एयरपोर्टमा भिआईपीको भ्रमण–काम कम, आश्वासन बढी (फोटो सहित)

प्रकाश ढकाल
पोखरा, फागुन १६ ।
दिनहुँजसो भिआईपीहरुले एयरपोर्ट निर्माणको अवस्थाबारे अवलोकन गर्छन् । उनीहरुको एउटै मात्रै प्रतिबद्धता हुन्छ, ‘निर्माणमा कुनै अप्ठ्यारो आए फुकाउन तयार छौं ।’ अप्ठ्यारोकै कारण विमानस्थल निर्माण झण्डै २ बर्ष ढिलो भैसक्यो । अझैपनि प्रारम्भीक चरणकै समस्या सुल्झिएको छैन । एक्जीम बैंकले ऋण दिने बताएपनि भुक्तानी प्रक्रिया टुंगिएको छैन । विना सम्झौता विमानस्थलमा अहिले काम चलिरहेको छ । सब कन्ट्याक्टर नियुक्त भएको छैन । काम थालेको ५ महिना पुग्न लाग्यो, कामदारले पैसा पाएका छैनन् । एयरपोर्टको डिजाईनबारे टुंगो लागिसकेको पनि छैन । सामान्य खाका बनाएर काम थालिएको र बाहिरी आवरणबारे टुंग्याउने चरणमा निर्माण कम्पनी छ । ठेकेदार कम्पनीका जेरी याङले यही हिउँदसम्ममा जमिन सम्याईसक्ने बताएका थिए । हिउँद सकिन लाग्यो अहिलेसम्म २५ प्रतिशत काम मुश्किलले सकिएको छ । चालू बर्षभित्र ८० प्रतिशत मात्रै सम्याईसक्ने आयोजना प्रमुख विनेश मुननकर्मीले जानकारी दिए । ऋण सम्झौता सकिने वित्तिकै चिनियाँ टोली पोखरा आएको हो । तर उनीहरुले अहिलेसम्म मन खोलेर काम थालेका छैनन् ।   सोमबार प्रदेश ४ का आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले एयरपोर्टको अवलोकन गरे । उनले पनि विमानस्थल निर्माणमा ढिलाई नगर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि तत्पर रहेको बताए । राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारले उच्च प्राथमिकताका साथ काम गर्ने उनको भनाई छ । २ बर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्ष नेताको उपस्थितीमा बिमानस्थल निर्माणको शिलान्यास गरेपछि ४४ बर्षअघिको पोखरेली सपना कार्यान्वयनको चरणमा छिरेको थियो । तर जुन गतिमा काम हुनुपर्ने हो, त्यो भएको छैन । अचेलभरी दिनहुँजसो भिआईपीहरुले विमानस्थलको अवलोकन गर्छन् र चाहिनेजति आश्वासन दिन्छन् । उनीहरुको भ्रमणले कार्य प्रक्रिया बदलिँदैन नत कामको तीब्रता बढ्छ । यद्यपी उनीहरुको चासोले निर्माण कम्पनीलाई दवाव भने पुग्नेछ । अघिल्लो साता विमानस्थल निर्माणको लागि ईम्प्लिमेसन एग्रिमेण्ट (कार्यान्वयन सम्झौता) भएको छ । सम्झौता पछि रकम भुक्तानी हुने र सहज रुपमा काम अघि बढ्ने विश्वास लिईएको छ । एक्जिम बैंकले लोन एग्रीमेण्ट गर्दैमा रकम भुक्तानीका लागि १३ वटा शर्त राखेको थियो ।
त्यो मध्ये महत्वपूर्ण शर्त कार्यान्वयनको बिषयमा थियो । आयोजनामा लगानीको अवस्थाबारे मुल्याकंनका लागि कन्सल्टेन्सी नियुक्त गरेर निरीक्षण गराउने शर्त छ । त्यसको अन्तिम प्रमाणित आँफैले गर्न पाउनुपर्ने निर्माण कम्पनीको माग थियो । तर नेपाल सरकारले प्रमाणित गर्ने अधिकार नदिएपछि कार्यान्वयन सम्झौता ढिलो भएको हो । अहिले दुवै पक्षले संयुक्त रुपमा निरीक्षण गरेर प्रमाणीत गर्ने समझदारी अनुसार कार्यान्वयन सम्झौता भएको विमानस्थलका आयोजना प्रमुख मुननकर्मीले जानकारी दिए । उनका अनुसार एयरपोर्ट निर्माणका लागि सव कन्ट्याक्टर छनौटको काम भैरहेको छ । सिएएमसीले सव कन्ट्याक्टर समेत चीनबाटै खटाउन लागेको छ । नेपालीहरुले अनावश्यक माग राखेर आन्दोलन गर्ने आरोप लगाउँदै निर्माण कम्पनीले आफ्नै कन्ट्याक्टर खटाउन लागेको हो । यद्यपी एयरपोर्ट बाहिरका काम भने नेपाली कामदारले गर्नेछन् । केही दिनमै सूचना प्रकाशन गरि सव कन्ट्याक्टर छनौट हुने र थप काम अघि बढ्ने मुननकर्मी बताउँछन् । एयरपोर्टको पेरिफेरी रोड बनाउन आवश्यक पर्ने जग्गा समेत अधिग्रहण गरी मुआब्जा वितरणको चरणमा पुगेको उनले बताए ।
‘करिब ६० रोपनी जग्गा पेरिफेरी सडक बनाउन अधिग्रहण गर्न लागेका छौं । यसको मुआब्जा वितरण गर्ने सूचना प्रकाशन भैसकेको छ, उनले थपे– केही साताभित्रै मुआब्जा दिएर सडक निर्माण थाल्छौं ।’ उनका अनुसार बाहिरी सडक २ लेनको हुनेछ । विमानस्थल निर्माणमा हालसम्म ६ प्रतिशत मात्रै काम सकिएको छ । शिलान्यास भएको झण्डै २ बर्ष पुग्न लाग्यो । अघिल्लो बर्षको मे महिनामा मात्रै एक्जीम बैंकसँग ऋण सम्झौता भएको थियो । जुलाईमा निर्माणको काम गर्ने आदेश दिईएपछि नोभेम्बर महिनाबाट सम्याउन थालिएको हो । ‘चालू बर्षभित्र ८० प्रतिशत सम्याईसक्ने लक्ष्य छ । ५० प्रतिशत निर्माण सामाग्री पनि संकलन भैसक्छ, आयोजना प्रमुख विनेश मुननकर्मीले भने–टर्मिनल भवनको काम यही बर्षभित्र सुरु हुन्छ । कामदार र प्रतिनिधीका लागि शिविर पनि बनाईसक्छौं ।’ अवरोध नभए तोकिएकै समयभित्र निर्माण पूरा हुने उनको दावी छ । जग्गा सम्याउनका लागि २१ वटा स्काभेटरले दैनिक काम गरिरहेका छन् भने झण्डै डेढसय कर्मचारी र कामदार खटिएका छन् । सम्याएपछि मात्रै चाईनिज टोलिले अरु निर्माणको काम थाल्छ ।
विमानस्थल भित्र जहाजका लागि छुट्टाछुट्टै विश्राम स्थल बनाईनेछ । अन्तराष्ट्रिय जहाजका लागि ३ सय मिटर लामो र १ सय ५२ मिटर चौडा र आन्तरिक जहाजका लागि १ सय ५० मिटर लामो र १ सय मिटर चौडा विश्राम स्थल रहनेछ । २ हजार ५ सय मिटर लामो र ६० मिटर चौडा रनवे हुनेछ भने एयरपोर्ट छिर्ने रोड ४ लेनको हुने मुननकर्मीले जानकारी दिए । विमानस्थल निर्माणका लागि ३ चरणसम्म गरेर करिब ३ हजार ८ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । २०३२ सालमा ३ हजार १ सय ६ रोपनी, निर्माणको काम थाल्नुअघि ६ सय २९ र अहिले थप ६० रोपनी जग्गा अधिग्रहण गरिएको हो । चीनको एक्जीम बैंकबाट उपलब्ध हुने झन्डै २२ अर्ब ऋणको सम्झौता भएपछि नेपाल सरकारले नागरिक उड्ययन प्राधिकरणलाई कामको जिम्मेवारी सुम्पिएको छ । ईपिसी (ईन्जिनियरिङ प्रोस्युरमेण्ट एण्ड कन्स्ट्रक्सन) मोडल अनुसार थालिएको काम ठेकेदार कम्पनी चीनको सिएएमसीले निर्धारित समयमा नै सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने छ । २०२१ जुलाई १० सम्म निर्माण सक्नुपर्ने सम्झौतामा उल्लेख छ । यसअघि २०२० भित्रै काम सक्ने समझदारी भएको थियो तर ऋण सम्झौता र अन्य प्रक्रियागत जटिलताका कारण निर्माण अवधी १ बर्ष थपिएको हो ।