एमाले–माओवादी एकता, यस्ता छन् सहमति

काठमाण्डौं, फागुन ८ ।
पाँच महिनाको गृहकार्यपछि अन्ततः नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता टुंगोमा पुगेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ८ बजेदेखि करिब तीन घन्टा चलेको दुवै दलका नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठकमा ७ बुँदे सहमति भएको छ । ’एकीकरणका प्रारम्भिक आधारहरु’ भन्दै गरिएको लिखित सहमतिमा पार्टीको नाम ’नेपाल कम्युनिस्ट पार्टी’ राख्ने, पार्टीको निर्देशक सिद्धान्त ’मार्कसवाद–लेनिनवाद’ रहने उल्लेख छ । ती आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमतिमा उल्लेख गरिएको छ ।
सहमतिमा बैठकमा सहभागी प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, एमालेका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र बामदेव गौतम तथा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको हस्ताक्षर छ ।