एमाले नेता रवीन्द्रले रचे इतिहास (के गरे पढ्नुस्)

प्रकाश ढकाल
पोखरा, मंसिर २५ ।
वाम गठबन्धनका उम्मेदवार एमाले नेता रवीन्द्र अधिकारीले कास्की क्षेत्र नम्बर २ बाट चुनाव जिते । उनले यसपाली चुनाव मात्रै जितेनन् संसदीय नेतृत्वमा कास्कीबाट इतिहास नै रचे । लगातार तेश्रो पटक चुनाव जित्ने रवीन्द्र कास्कीका पहिलो नेता हुन् । उनी २०६४ र २०७० को संविधानसभा चुनावमा बिजयी भएका थिए । यसअघि काँग्रेस नेता तारानाथ रानाभाट र एमाले नेता तुलबहादुर गुरुङ २÷२ पटक सांसद बनेका छन् । २०५६ देखि संसदीय चुनावको अभ्यासमा रहेका अधिकारी पहिलो पटक पराजीत उम्मेदवार हुन् । ५६ मा उनी कास्की क्षेत्र नम्बर १ मा नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका थिए । पहिलो चुनावमा मतका आधारमा अधिकारी चौंथो भएका थिए । तत्कालीन चुनावमा उनले १ हजार ७ सय ५२ मत पाएका थिए ।
त्यसपछि एमाले र मालेको एकीकरण भएसँगै अधिकारी एमालेका नेता बने । २०६४ को पहिलो चुनावमा कास्कीमा एमालेबाट चुनाव जित्ने अधिकारी मात्रै थिए । माओबादी नेता झलकपाणी तिवारीलाई २ हजार ४ सय ६० मतान्तरले पराजीत गरेका अधिकारीले २०७० मा काँग्रेस नेता सोभियतबहादुर अधिकारीलाई पनि पछारे । सोभियत रवीन्द्रसँग २ हजार ३ सय २ मतले पराजीत भए । विद्यार्थी संगठनदेखि राजनीतिमा उदाएका अधिकारी तत्कालीन भरतपोखरी गाविसको जामुनाबोटमा २०२६ सालमा जन्मिएका हुन् । गाउँमै मावि तहको पढाई पूरा गरेपछि पिएन छिरेका अधिकारी २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा हुँदै २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वाचित भए ।
२०५३ सालमा स्वबियु काउन्सिल नेपालका संयोजक भएका अधिकारी २०५६ मा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष हुँदै २०६० र २०६३ मा २ कार्यकाल कास्कीको सचिव भए । पंचायतको विरोध गरेकै कारण २०४६ सालमा अधिकारी पटकपटक गरी ६ महिना जेल परेका थिए । २०४५ सालमा पार्टीको संगठित सदस्यता पाएका उनी २०४६ मा पोखरा नगर कमिटी, २०४८ मा पार्टी जिल्ला कमिटीमा हुँदै केन्द्रिय राजनीतिमा होमिए । २०५४ मा पार्टी विभाजन हुँदा नेकपा मालेमा लागेका रवीन्द्र २०५८ मा पार्टी एकीकरणसँगै एमालेमै छिरेका हुन् ।