एमाले कास्कीमा ब्यापक असन्तुष्टि, नेपाल पक्षले दिए केन्द्रमा उजुरी

पोखरा, कार्तिक १२ ।
उम्मेदवार मनोनयनमा धाँधली भएको भन्दै कास्की एमालेमा अन्तरविरोध देखिन थालेको छ । एमालेभित्रै एक खेमालाई षड्यन्त्रपुर्वक उम्मेदवार सिफारिसमा रोक लगाएको भन्दै केन्द्रिय स्थायी कमिटिमा उजुरी परेको छ । कास्कीबाट नेपालपक्ष सिफारिसमै ‘क्लिन स्विप’ भएको थियो । प्रदेशसभाका आकांक्षी एमालेका पूराना नेता श्रीनाथ बराल, प्रतिनिधी सभा सदस्य उम्मेदवारका आकांक्षी सांसद सीता गिरी वली, तुल बहादुर गुरुङ, प्रदेशसभाकै आकांक्षी विजयबाबु बनबासी र पूण्य पौडेलले छुट्टाछुट्टै उजुरी केन्द्रिय कमिटिमा पठाएका हुन् । प्रदेश कमिटि हुँदै सीधै केन्द्रमा उजुरी दर्ता गरेको नेताहरुले बताएका छन् ।
एमाले कास्कीले प्रजातान्त्रिक प्रणाली अनुसार उम्मेदवार सिफारिस गरेको भनेपनि नेपाल पक्षले भने षड्यन्त्र पुर्वक आँफुहरुलाई पराजीत गरेको आरोप लगाएका छन् । ‘पार्टीभित्रको सत्ताको चरम दुरुपयोग भएको छ । षड्यन्त्र पुर्वक हामीलाई पराजीत गरियो, एक नेताले भने–संस्थापन पक्ष विरुद्ध हामीले उजुरी दर्ता गरेका छौं । यो पद्धतीले पार्टीलाई नै घाटा हुनेछ ।’ सुरुमा सर्वसम्मत गर्ने भनिएपनि अन्तिम समयमा अनपेक्षित रुपले भोटिङ गरिएको ति नेताको गुनासो छ । पार्टीको एउटा खेमालाई निषेध गर्नकै लागि वहानाबाजी गरिएको असन्तुष्टहरु बताउँछन् ।
एमालेभित्र श्रीनाथ बराल, सीता गिरी वली, तुलबहादुर गुरुङ र विजयबाबु बनबासी नेपाल पक्षका मानिन्छन् भने पूण्य पौडेल बामदेव पक्षका रुपमा चिनिन्छन् । गुटगत राजनीतिका कारण केही नेताहरुलाई बाईपास गरेरै उम्मेदवार सिफारिस भएको भन्दै एमालेभित्रै बहस हुन थालेको छ । उम्मेदवार सिफारिस भोटिङ मार्फत गरिएको भनिएपनि आँफु चुनावी प्रक्रियामा सहभागी नै नभएको सांसद वलीले बताएकी छिन् ।
अर्का सांसद तुल बहादुर गुरुङले असहमति जनाउँदा जनाउँदै संस्थापन पक्षले अटेर गरेको आरोप लगाए । उम्मेदवार सिफारिस कै दिन वली र गुरुङले निवेदन दिएर निर्णय सच्याउन माग गरेका थिए । तर निवेदनको सुनुवाई नभएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । ‘नियोजित रुपमै एउटा विचारमाथी आस्था राख्नेलाई निषेध गरिएको छ, नेता गुरुङले भने–यो सरासर गल्ती हो । पार्टीको निर्णय प्रजातान्त्रीक हिसावले कार्यान्वयन गरिनुपर्छ ।’
एमाले कास्कीले भने निर्वाचनको परिणाम नै केन्द्रमा पठाएको बताएको छ । ‘केन्द्रले कम्तिमा एक महिला सहित ३÷३ जनाको नाम पठाउन निर्देशन गरेको थियो । हामीले त्यही निर्देशन पालना गरेका हौं, एक नेताले भने–आकार घटाउन भोटिङ गर्नुपर्ने बाध्यता भयो । त्यसले राम्रा नेताहरु पनि पछि पर्नुभयो ।’ सबै नेताहरु भोटिङबाट पराजीत भएका सिफारिस समितिले जनाएको छ । ओली पक्ष हाबी रहेको कास्कीमा योग्य उम्मेदवारलाई पाखा लगाउने यसअघिको घटनाक्रम जस्तै यसपटक पनि मतदानमा पु¥याएको एमाले नेताहरु नै बताउँछन् । स्थानीय तहको चुनावमा पनि नेपाल पक्षधर नेताहरु मतदान प्रक्रियाबाट पराजीत भएका थिए ।
बराल प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (ख), बनबासी क्षेत्र नम्बर १ (क), गुरुङ क्षेत्र नम्बर २ (क), पौडेल क्षेत्र नम्बर ३ (ख) र वली प्रतिनिधीसभा सदस्य क्षेत्र नम्बर ३ का आकांक्षी थिए । एमालेले प्रतिनिधीसभा र प्रदेशसभा सदस्यका लागि सबै क्षेत्रका उम्मेदवार भोटिङमार्फत टुंग्याएको थियो ।