एमालेले फोरमसँग मिलेर सरकार बनाउन लागेको प्रचण्डको आरोप

नवलपरासी, पुस ८ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमाथि संघीय समाजवादी फोरमसँग मिलेर सरकार बनाउने असफल प्रयास गरेको आरोप लगाएका छन् । नवलपुरको कावासोतीमा कार्यकर्तासँग कुरा गर्दै उनले माओवादी देशको निर्णायक भएकाले सचेत रहन आग्रह समेत गरे । ‘उपेन्द्रसँग हुन्छ कि भनेर कोसिस त भयो । तर, उपेन्द्र उता छाडेर आउन सक्ने छैन भन्ने भएपछि माओवादी विना वामपन्थीको सरकार बन्दैन’ उनले भने, ‘त्यसैले अहिले राम्रा कुरा भएका छन् । पार्टी एकता जसरी पनि गर्ने हो भनेर आउनु भएको छ ।’
जनताले आफ्नो मततर्फत सरकारको चाबी माओवादीलाई दिएकाले एमाले पार्टी एकताको पक्षमा उभिएको बताए । ‘जब एमाले ८० सिटतिर गयो र कांग्रेस २०/२१ सिटमा समेटिएपछि एमालेका केही नेता साथीहरुलाई के लाग्यो भने अब हाम्रो एक्लै बहुमत पुग्ने भयो’ एमाले महासचिव ईश्वर पोखरेलको अभिव्यक्तितर्फ संकेत गर्दै प्रचण्डले भने, ‘यो पनि हामीलाई चाहिन्छ, त्यो पनि हामीलाई चाहिन्छ भनेर केही नेताहरुले बोल्नुभयो पनि ।’
तर, समानुपातिकमा एमाले र कांग्रेसको मत झण्डै समान आएपछि एमाले एक्लै बहुमत नपुग्ने र माओवादी विना सरकार नबन्ने अवस्था आएको उनको विश्लेषण छ । यसका बाबजुद एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रयास गरेको प्रचण्डको दाबी छ । माओवादी अध्यक्ष प्रचण्डले आफूहरु भने पार्टी एकताबारे कुनै दुविधामा नरहेको दाबी गरे । आफ्नो प्रस्तावमा नै वाम गठबन्धन र एकता भएको भन्दै उनले त्यसलाई निष्कर्षमा र्पुयाउने जिम्मेवारी पनि आफ्नै भएको बताए ।