एनआरएनएले गरेको स्पीच कन्टेस्टमा म्यानमारकी खतिवडा पहिलो

पोखरा, साउन २६ ।
गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको युवा फोरमले आयोजना गरेको एनआरएनए (अण्डर १९) ग्लोवल स्पीच कन्टेस्ट प्रतियोगितामा म्यानमाकी अभिलाषा खतिवडा पहिलो भएकी छिन् । नेपाल बाहिर बसेका नेपाली मुलका बालबालिकाहरुबीच भएको प्रतिश्पर्धामा खतिवडाले उपाधी जित्दै १ लाख नगद पुरस्कार पाईन् ।

रुसबाट प्रतिनिधित्व गर्ने समरिया केसी दोस्रो भईन् । उनले ६० हजार रुपैयाँ जितेकी छिन् । बेलायतबाट प्रतिनिधित्व गरेकी टिया आचार्यले तेस्रो हुँदै ४० हजार जितिन् । अष्ट्रियाबाट प्रतिनिधित्व गर्ने कुञ्जन बोहरा राइजिङ स्टार र १३ वर्षभन्दा मुनीका लिटल मास्टरको टाइटल अष्ट्रियाकै दिब्या ढकालले पाएका छन् । उनीहरुले दुवैले जनही ३० हजार प्राप्त गरे ।

नाइजेरियाका सुहिम थापा र साउदी अरवबाट प्रतिनिधित्व गरेकी जस्मिन सायदले चौथो स्थान हासिल गर्न सफल भए । यसैगरी थाइल्याण्डबाट प्रतिनिधित्व गर्ने दंग तिमिल्सीनाले पाँचौ स्थान हासिल गरे । उनीहरु तीनै जनाले प्रतिब्यक्ति २० हजार नगद पाएका कार्यक्रम संयोजक तथा क्षेत्रीय युवा संयोजक दिपक कँडेलले जानकारी दिए ।

कार्यक्रममा २९ देशका ६१ जना प्रतियोगी सहभागि थिए । ‘राष्ट्रको लागि मेरो सपना’ शीर्षकमा नेपाली र अंग्रेजी दुवै भाषामा प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा अमेरिका, यूके, अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, युएई , अष्ट्रीया, आयरल्याण्ड र स्कटल्याण्डबाट प्रतिनिधित्व रहेको थियो ।

अनलाईन जुम मार्फत (अडियो, भिडियो) मा भएको प्रतियोगितामा हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी, पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ र सञ्चारकर्मी समा थापा निर्णयक मण्डलमा थिए । कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछाने पनि थिए ।

कार्यक्रममा एनआरएनका अध्यक्ष कुमार पन्तले विदेशमा रहेका दोस्रो पुस्तालाई नेपालसँग जोड्न यो कार्यक्रम निकै महत्वपूर्ण भएको बताए । महिला तथा यूवा विभाग संयोजक तथा एनआरएनए उपाध्यक्ष रवीना थापाले देशप्रति अहिलेका पुस्तालाई सम्मान कायम राख्न राष्ट्रियता झल्किने कार्यक्रम गर्दै जानुपर्ने बताईन् । उनले यो कार्यक्रम निकै प्रभावकारी भएको भन्दै यसले नेपाल र विदेशमा भएका नेपालीहरुलाई जोड्न पुलको काम गरेको सुनाईन् ।

पूर्व अध्यक्ष भवन भट्ट, उपाध्यक्ष सोनाम लामा, युवा संयोजक हिमाल गुरुङ, एसिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ (गोविन्द), उपसंयोजक खगेन्द्र न्यौपाने, एसिया प्याशिफिक क्षेत्रीय महिला संयोजक कञ्चन थापा (अमृता) लगायतले शुभकामना दिएका थिए । प्रतियोगताका विजेतालाई सम्बन्धीत एनसिसीमार्फत कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिनेछ ।