एक महिनामै २० लाखले पार गरे हङकङ–चुहाइ–मकाउ समुद्रपार पुल

हङकङ, पुस १० ।
चुहाइ–मकाउ समुद्रपार पुलबाट एक महिनामै २० लाखभन्दा बढी मानिसले भ्रमण गरेका छन् । गत नोभेम्बर २४ देखि डिसेम्बर २३ सम्मको एक महिनामा २० लाख ७ हजार मानिसले पुल पार गरेका हुन् ।

करिब दुई महिना अगाडि मात्र चीनका राष्ट्रपति सि चिनफिङले उद्घाटन गरेको विश्वकै सबैभन्दा लामो सामुद्रिक पुलहुँदै दैनिक ६९ हजार मानिसले भ्रमण गरेका छन् । समुद्रमाथि र समुद्र मुनी निर्माण गरिएको ५५ किलोमिटर लामो यो पुल पर्यटकका लागि आकर्षण बनेको छ । सुरुमा यस पुलबाट ओहोर दोहोर गर्ने चाप १.५ प्रतिशतले वृद्धि भएको थियो जुन अहिले घटेको छ ।

स्थानीय नागरिकले पुलमा चाप बढेकोभन्दै गुनासो गरेपछि सम्बन्धित अधिकारीहरु चाप घटाउन लागि परेका थिए । जसअनुसार अहिले पुलको ट्राफिक नियन्त्रणमा प्रगति भएको हो । गएको एक हप्तामा ट्राफिक नियन्त्रणमा प्रगति देखिएको बताइएको छ । दैनिक जसो यस पुलहुँदै ६९ हजार मानिसहरु भ्रमण गर्दथे । गत नोभेम्बर १७ मा एक दिनमा सबैभन्दा बढी १ लाख ३ हजार मानिसले पुलबाट भ्रमण गरेको तथ्यांक छ ।

तर ट्राफिक नियन्त्रण अभियान पश्चात गत शनिबार २२ डिसेम्बरमा ६६ हजार ९ सय मानिसलेमात्र पुलबाट भ्रमण गरे । त्यो पुलहुँदै एक दिनका लागि मात्र विभिन्न क्षेत्रमा घुम्न जाने पर्यटकहरुको कटौती गरिएपछि ट्राफिक नियन्त्रणमा प्रगति भएको जनाइएको छ ।

हङकङ, चुहाइ र मकाउ जोड्ने पुलको चेक पोइन्टको रुपमा रहेको तुङचुङ जिल्ला परिषद प्रमुख तथा कानुन निर्माता होल्देन चो होदिङले ट्राफिक नियन्त्रणमा उल्लेख्य प्रगति भएको बताए ।