एक्स्पोमा दर्शकको चाप बढ्दै

पोखरा, मंसिर १७ ।
पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला– २०७५’ मा कारोवार र दर्शक बढ्दै गएका छन् । एक्सपो अगाडि बढ्दै गर्दा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए ।

‘एक्सपोमा रहेका स्टलहरुले घरायसी सामानहरु विशेष छुटका साथ बिक्री गरेकाले पनि कारोवार अवलोकनकर्ता बढदै गएका हुन्’, उनले भने,‘मनोरञ्जनात्मक कार्यक्रमले पनि अवलोकनकर्तालाई आकर्षित गरेको हो ।’

पोखराको अर्थतन्त्र चलायमान बनाउन र उत्पादनको ब्यापार बढाउन एक्स्पो आयोजना गरिएको संघका महासचिव तथा प्रचार प्रसार समितिका संयोजक अर्जुन पोखरेल बताउँछन् । मेलाले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउने आयोजकका अनुमान छ ।

एक्सपोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प, हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादनलगायतका ३ सयवटा स्टलहरु रहेका छन् ।

एक्सपोका साँस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीका अनुसार मंगलबार लोकदोहोहरी गायकहरु खुमन अधिकारी, चोलेन्द्र पौडेल, तारापति पराजुली,कुमार पुन, घनश्याम भुषाल, माया गुरुङ, सीता केसी,सजना बास्तोला,अम्बर धिताल,सरला पाण्डे र सुरेश रानाको प्रस्तुति रहनेछ ।

यसैगरी नेपालका चर्चित गायक प्रमोद पोखरेलको विशेष प्रस्तुतिसहित सुमन केसीको समूह र लोकदोहोरी प्रतिष्ठान लमजुङबीचको दोहारी प्रतिष्पर्धा पनि रहेको साँस्कृतिक उपसमिति संयोजक खत्रीले जानकारी दिए । हाँस्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेवा), घाँटु नाच तथा शिववस्ती आमा समूह, खाष्टेताल बाराही आमा समूह र काहुँ कालिका आमा समूहको रत्यौली प्रतिष्पर्धाले पनि एक्सपोका अवलोकनकर्तालाई मनोरञ्जन दिने उनको भनाई छ ।