एक्याप कार्यालयमा ताला लगाईदिने गाउँपालिका अध्यक्षको चेतावनी
पोखरा, बैशाख २ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनप्रतिनिधीसँग अटेर गरेको गाउँपालिकाका जनप्रतिनिधीहरुको गुनासो छ । अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधीहरुले एक्यापले सरकार भन्दा ठूलो ठानेर जनप्रतिनिधीलाई हेप्ने काम गरेको गुनासो गरे । गाउँपालिका अध्यक्ष युवराज कुवँरले जनताले संरक्षण गरेका सम्पत्ति प्रयोग गर्दा पनि अनेक बाधा झिकेर एक्यापले दुख दिने गरेको आरोप लगाए । ‘ हामीले हाम्रै निम्ती हामीले नै हुर्काएको रुख, हामीले संरक्षण गरेको श्रोत साधन हामीले प्रयोग गर्न पाउँदैनौं भने त्यसको के काम ? पर्यावरण नविग्रिने गरी प्राकृतिक श्रोत चलाउन पाउने हामीलाई संविधानले अधिकार दिएको छ, उनले भने–जनताले आफ्नो अधिकार प्रयोग गर्न पाउनुपर्छ । अब एक्यापले बुझे हुन्छ जनताको काम हुर्काउने मात्रै होईन ।’
जनअधिकारमा जवरजस्ती गर्न खोजे एक्यापको कार्यालयमा तालाबन्दी गरिदिने उनको चेतावनी छ । गाउँपालिकाले आयोजना गरेको चालू बर्षको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई विरेठाँटीमा एक्यापका कारण जनताले दुख पाएको गुनासो नागरिकले गरेपछि कुवँरले जनताको हित विपरित काम गरे एक्याप बन्द गरिदिने चेतावनी दिएका हुन् ।
जनताले भोट दिएर जिताएको ब्यक्तिलाई जनप्रतिनिधि नमान्ने एक्याप हामीलाई पनि चाहिँदैन
‘एक्यापको दिग्दर्शनले जनप्रतिनिधीलाई गन्दैन भने हामीले एक्याप गन्नुपर्छ भन्ने छैन । जनताले भोट दिएर जिताएको ब्यक्तिलाई जनप्रतिनिधि नमान्ने एक्याप हामीलाई पनि चाहिँदैन, उनी भन्छन्–जनभावना विपरित काम गरिरहने हो भने जनप्रतिनिधि गएर एक्याप कार्यालयमा ताला लगाईन्छ । अध्यक्षले ताला लगाउँछ ।’ विरेठाँटीका स्थानीय टेकबहादुर गुरुङले आफ्नै जग्गाको काठ अर्को वडामा चिर्न लैजाँदा एक्यापले रोक्ने र जरिवाना तिराएको गुनासो गरेका थिए ।
पत्रकार प्रकाश ढकालले सहजीकरण गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधीले जनअपेक्षा अनुसार काम गर्न नसकेका, गाउँपालिका र वडा कार्यालयको भवन ब्यवस्थित नभएको, बजेट र कार्यक्रमबारे जनताले जानकारी नपाएका, योजनाको अनुगमन प्रभावकारी हुन नसकेको, न्यायिक समितिको प्रभावकारीता लगायत गुनासो गरेका थिए ।
गुनासोको सुनुवाई गर्दै गाउँपालिका अध्यक्ष युवराज कुवँरले पहिलो बर्ष भएकाले केही कमीकमजोरी भएपनि आगामी बर्षदेखि पूर्ण सुधारसहित सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए । उनले गाउँपालिकाको स्थायी केन्द्र तय गरेर अव भवन निर्माण गर्ने, सबै जनताले थाहा पाउने गरी वडा तहमै योजना र बजेटबारे सार्वजनिकीकरण गर्ने बताए । गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सगुन गुरुङले भर्खरै न्यायिक समिति गठन गरेर काम थालिसकेको बताईन् । ‘भर्खरै ३ सदस्यीय समिति गठन भएको छ । अहिलेसम्म ८ वटा उजुरी पनि आईसके, उनले भनिन्–पूराना सीमाना विवादहरु भएकाले अध्ययनको काम भैरहेको छ । त्योभन्दा पहिले कानुनी सल्लाहकार नियुक्त गर्ने तयारीमा छौं ।’
कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ लगायतले गाउँपालिकाका निर्णय जनस्तरमा सार्वजनिक हुनुपर्ने, हरेक कार्यक्रममा नागरिकलाई बढी सहभागी गराउनुपर्ने लगायत सुझाव दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेशकान्त पौडेलले गाउँपालिकाले योजना छनौट सुरु गरेकाले बस्ती स्तरमा आफ्ना योजना माग गर्न आग्रह गरे । गाउँपालिका अध्यक्ष युवराज कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका तोयानाथ तिमिल्सीनाले गरेका थिए ।