एक्यापप्रति आक्रोश बढ्दै, पोथना कार्यालयमा पनि तालाबन्दी

पोखरा, पुस ५ ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाप्रति स्थानीयको आक्रोश झनै बढिरहेको छ । नेपाली पर्यटकसँग प्रवेश शुल्क उठाएपछि एक्याप क्षेत्रका ब्यवसायी र सर्वसाधारणले त्यसको विरोध गरिरहेका छन् । दुई साताअघि बीरेठाँटी चेकपोष्टमा तालाबन्दी गरेकोमा शनिवार केही सहमति भएपछि खोलिएको थियो ।

तर यूवा समूहहरुले संघर्ष समितिले गरेको सहमति नमान्ने भन्दै पुनः बुधबार तालाबन्दी गरे । बीरेठाँटीपछि अन्नपूर्ण गाउँपालिका ७ पोथनामा पनि विहिबार स्थानीयले चेकपोष्ट तालाबन्दी गरेका छन् । जुनसुकै हालतमा पनि चेकपोष्ट पोथनाबाट हटाउनुपर्ने भन्दै उनीहरुले ताला लगाएका हुन् ।

चेकपोष्ट हटाउन र आन्दोलनका कार्यक्रम गर्न स्थानीय कुमार गुरुङको संयोजकत्वमा ७ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिको सदस्यहरुमा हरिमान गुरुङ, थमबहादुर गुरुङ, खुशीमान आले, रेशम देवकोटा, अनिल थापा र तिलक थापा छन् । उनीहरुले जुनसुकै हालतमा पनि एक्यापको चेकपोष्ट आफ्नो ठाउँबाट हटाउनुपर्ने माग राखेका छन् ।

एक्यापका प्रमुख राजकुमार गुरुङले चाहीँ स्थानीयसँग समन्वय गरेरै अघि बढ्ने बताएका छन् । ‘हामीले आफूँखुशी प्रवेश शुल्क लिएका हैनौं । नेपाल सरकारले राजपत्रमै निकालेर निर्देशन पठाएपछि निर्णय मान्नुपर्छ, उनले भने–तर हामीले अहिले नेपालीसँग शुल्क नलिने भद्र सहमति गरेका छौं । स्थानीयको भावना विपरित हामी जाँदैनौं ।’ उनले स्थानीय रुपमा उठेका अन्य समस्याहरु पनि बार्ता र सम्बादका माध्यमबाट सम्बोधन गर्ने बताए ।

याे पनि पढ्नुस् 

एक्याप खारेजीको माग गर्दै पुनः तालाबन्दी (भिडियो सहित)