एकेडेमीलाई सघाउन पोखरामा च्यारिटी फुटवल

पोखरा, फागुन १७ ।
सहारा क्लव पोखराले सञ्चालन गरेको दोविल्लाको एकेडेमीमा अहिले २८ जना बालक छन् । सबैले फुटबलको प्रशिक्षण लिइरहेका छन् । फुटबलर बनाउने धुनमा सहारा क्लब डेढ दशकदेखि जुटिरहेको छ । यो दोस्रो पुस्ता हो । दोस्रो पुस्तापनि व्यवसायिक फुटबलर बन्ने अभियानमा छन् । फुटबलर बनाउने धुनमा जुटेको सहारा क्लबले वर्षेनी आहा रारा गोल्डकप प्रतियोगिताबाट बचत रकम एकेडेमीमा लगानी गर्दै आएको छ । एकेडेमीकै लागि विभिन्न संघसंस्थासँग सहयोगको आग्रह पनि गर्दै आएको छ । स्वदेशी तथा विदेशी संस्थाले पनि एकेडेमीलाई सहयोग गर्दै आएका छन् ।
क्लबले एकेडेमीकै सहयोगार्थ शनिबार एफसी केन्ट गोर्खाज(युके)सँग च्यारिटी फुटबल आयोजना गरेको छ । च्यारिटी फुटबलमा संकलित रकम एकेडेमीको लागि सहयोग गर्ने प्रतिबद्धता एफसी केन्ट गोर्खाजका म्यानेजर बुद्धि सुुनुवारले बिहीबार क्लब भवनमा आयोजित पत्रकार सम्मेलनमा सुनाए । गतवर्ष काठमाडौंमा खेलिएको च्यारिटी फुटबलबाट संकलित दुई लाख रुपैयाँ सिसिआरसी नामक संस्थालाई हस्तान्तरण गरिएको उनको भनाई थियो ।
शनिबार हुने मैत्रीपूर्ण फुटबलमा ४० वर्षमाथिका फुटबलरले प्रतिस्पर्धामा उत्रिने छन् । टिकटदर २ सय, ५ सय र १ हजारको दरका छन् । युकेमा बस्दै आएका चन्द्रबहादुर गुरुङको व्यवस्थापनमा टोली पोखरा च्यारिटी फुटबलको लागि आईपुगेको हो । उनले फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै च्यारिटी फुटबलमा सबैले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए । सन २०१४ सालमा स्थापित एफसी केन्ट युकेमै आयोजित भेट्रान्स प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । ‘कति संकलन हुन्छ यकिन छैन् । तर संकलित रकम स्पटमै हस्तान्तरण गर्ने छौं ।’ अध्यक्ष सुनुवारले भने । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र महासचिव विश्वराज बरालले च्यारिटी फुटबलमा उपस्थितिको लागि सबैसँग आग्रह गरे ।