एकीकृत समाजवादीले रुपामा पौडेललाई अध्यक्ष उठाउने

पोखरा, बैशाख ४ ।
नेकपा एकिकृत समाजबादीले कास्कीको रुपा गाउँपालिकाको अध्यक्षमा कपिल पौडेलको नाम सिफारिस गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनको नाम सर्वसम्मत सिफारिस गरिएको हो । रुपा गाउँपालिका ७ का २४ वर्षीय पौडेल उक्त पार्टीको जिल्ला सचिवालय सदस्य र गाउँपालिका सहइन्चार्ज हुन् ।

अखिलको प्रारम्भीक कमिटीबाट राजनीतिमा छिरेका उनी एमालेको भ्रातृ संगठनका विभिन्न पदमा काम गरेपछि पार्टी विभाजनका बेला समाजवादी रोजेका हुन् । पार्टीले सानै उमेरमा दिएको जिम्मेवारी कुशलतापुर्वक पूरा गर्ने उनको भनाई छ ।

‘म प्रति जुन विश्वास पार्टीले राखेको छ । यसलाई पूरा गरेरै छाड्छु,’ उनले भने, ‘मैले चुनाव जितें भने रुपालाई रुप फेर्ने गरी योजना बनाएर लाग्छु ।’ रुपमामा आफ्नो पार्टी निर्णायक शक्तिको रुपमा रहेको भन्दै अध्यक्षमा एकीकृत समाजवादीले दावी गर्नु स्वभाविक रहेको बताए ।

उनले नागरिकको जीवन स्तर उकास्न कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारीमा बढी जोड दिने बताए । यद्यपी गठबन्धनले त्यहाँको टिकट कसलाई दिन्छ भन्ने टुंगो लागेको छैन ।