एकीकरण समाजवादीसँग हुन्छ, कम्युनिष्टसँग सम्भव छैन–उपप्रधानमन्त्री यादव

पोखरा, जेठ २६ ।
संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गदै उनले एकीकरणको कुरा चलेपनि होहल्ला मात्रै भएको बताए । ‘कम्युनिष्टको साईडबोर्डसँग एकिकरणको सम्भावना छैन । उनले भने–सैद्धान्तिक रुपमा पार्टी फरक छ । त्यसैले एकिकरणको सम्भावना छैन् ।’ सैद्धान्तिक रुपमा मिल्ने समाजवादीहरुसँग पार्टी एकिकरण गर्न सकिने उनको भनाई थियो ।

उपप्रधानमन्त्री यादवले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी राष्ट्रपतिको पक्षमा फोरम रहेको बताए । ‘जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी राष्ट्रपति र जनताबाट निर्वाचित संसदीय व्यवस्थाको पक्षमा छौं ।’ उनले भने–‘जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र संसद भए बर्तमान विकृति र विसंगति हट्छ ।’ उनले कार्यकारीको व्यवस्थाले विधि संगत भन्दा दायाँबायाँबाट चल्ने प्रणालीको अन्त्य हुने दावी समेत गरे ।

उनले जनताको राजनीतिक पहिचानको मुद्धालाई उठाउन सरकारमा सहभागि भएको बताउँदै दुईतिहाई बहुमतको सरकारबाट संविधान संशोधन गरी जनताको मुद्धा हल गर्दै जाने दृढता व्यक्त गरे । मन्त्री यादवले पहिचानको मुद्धा नत्यागेको प्रष्टयाउँदै पहिचान सहितको संघीयताको मुद्धा संविधान संशोधनबाट हल गर्ने जिकीर गरे ।