एकादशी मेला हेर्न गएका धादिङ र गोरखाका युवावीच बुंकोटघाटमा ग्याङ फाईट-गाडी ध्वस्त, प्रहरी घाईते

पोखरा, मंसिर ३ ।
धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको छ । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार राती १ बजेतिर धादिङ र गोरखाका स्थानीयहरुबीच झगडा हुदाँ प्रहरी घाइते भएका छन् । ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका प्रहरी घाइते भएका हुन् । धादिङका असई विनयकुमार पाण्डे घाइते भएको धादिङका प्रहरी नायव उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिए ।

पण्डेको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं पठाइएको महात्तोले बताए । धादिङ र गोरखाबाट १० जनाको संख्यामा प्रहरी मेलाको सुरक्षाको लागि खटिएको प्रहरीले जानकारी दिएको छ ।

झडपमा ४ वटा बोलेरो र ६ वटा मोटरसाइकलमाथी तोडफोड भएको छ । गोरखातर्फको दुई वटा बोलेरो र ४ वटा मोटरसाइकल तथा धादिङतर्फको २ वटा बोलेरो र २ वटा मोटरसाइकलमा तोडफोड भएको ज्वालामुखी गाउँपालिका–५ का वडा अध्यक्ष कृष्ण काप्रीले जानकारी दिए ।