उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने

प्रकाश ढकाल
पोखरा, असोज २४ ।
नेपाल र चीनको सीमाना कोरला नाका र दामोदर कुण्डलाई लक्षित गरि उपल्लो मुस्ताङमा एयरपोर्ट निर्माण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सक्रियतामा ल्हो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नम्बर १ को चराङमा विमानस्थल निर्माण गर्न लागिएको हो ।

विमानस्थल बनाउन बुधबारदेखि सर्भेको काम थालिएको छ । केही समयभित्रै डिपिआर तयार गरेर मन्त्रालयमा बुझाउने र त्यसपछि निर्माणको काम सुरु हुने प्रदेशसभा सांसद ईन्द्रधारा विष्टले जानकारी दिए । ‘अहिले अध्ययन सुरु भएको छ । यसमा पर्यटन मन्त्रालयले निकै चासोका साथ काम गरिरहेको छ, उनले भने–दामोदरकुण्ड पुग्ने धार्मिक पर्यटक र कोरला नाकालाई लक्षित गरि एयरपोर्ट बनाउन लागिएको हो ।’

धेरै पहिले देखि यसको चर्चा भएपनि काम अघि बढ्न सकेको थिएन । बुधबार भएको सर्भे उद्घाटनमा प्राविधिक टोलीसँगै प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचन, जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामा, ल्होघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्ट, वडाध्यक्ष टासीढिण्डु ठकुरी, पूर्व गाविस अध्यक्ष माया विष्ट लगायतको उपस्थिति थियो ।

नागरिक उड्ययन प्राधिकरणका इन्जीनियर पुष्पराज न्यौपानेको नेतृत्वको प्राविधिक टोलिले विमानस्थल निर्माणको लागि भौगोलिक सर्भेको काम सुरु गरेको हो । पर्यटन मन्त्रालयले मुस्ताङमा दुई ठुला परियोजना निर्माणको काम सुरु गर्न लागेको छ । विष्टका अनुसार मुक्तिनाथ मन्दिरको गुरुयोजनाको काम र माथिल्लो मुस्ताङमा विमानस्थल निर्माणको काममा पर्यटन मन्त्रालयले विशेष ध्यान दिएको छ । अहिले मुस्ताङको जोमसोममा एयरपोर्ट छ । उपल्लो मुस्ताङका नागरिकहरु पैदल, खच्चड वा गाडीबाट आउजाउ गर्छन् ।