उपनिर्वाचन सुरक्षार्थ संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना हुने

 

काठमाडौं, कार्तिक १७ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा सुरक्षाका लागि गृहमन्त्रालय र चारैवटा सुरक्षा निकायका प्रतिनिधि रहने गरी संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापन गरिने भएको छ ।

सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन निर्वाचन आयोगमा सहसचिवको नेतृत्वमा केन्द्रको स्थापना गर्न लागिएको उच्चस्तरीय सुरक्षा समितिका संयोजक निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्यालले जानकारी दिए ।

साथै, सुरक्षाका लागि नेपाल प्रहरीको अलग्गै सञ्चार एकाइ रहने बताउँदै संयोजक पौड्यालले एकीकृत सुरक्षा योजनालाई वस्तुनिष्ठ बनाउने बताए ।

यसैबीच, निर्वाचन सुरक्षाको तयारीबारे छलफल गर्न आइतबार उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुरक्षा व्यवस्था प्रभावकारी बनाइ मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचनमा संलग्न सबै जनशक्तिमा सुरक्षाको प्रत्याभुति गराउनुपर्ने बताए । (अनलाइनखबरबाट साभार)