उपनिर्वाचन मनाङमा कि काठमाण्डाैंमा ? खालि भएका २५ ठाउँमा निर्वाचन कहिले हुन्छ ?

पोखरा, असोज २५ ।
काठमाण्डौं ७ मा अहिले उपनिर्वाचनको तयारी भैरहेको छ । नेकपाका नेता वामदेव गौतमलाई सांसद बनाउने रहरलाई पूरा गराउन सांसद रामवीर मानन्धरले राजीनामा समेत दिईसकेका छन् । सम्भवतः उनी त्यही ठाउँबाट चुनाव लड्ने लगभग पक्काजस्तै भैसकेको छ । यद्यपी टुंगो भने लागिसकेको होईन ।

तर चुनाव भएकै दिनदेखि जनप्रतिनिधि गुमाएका मनाङका जनताको गुनासो चाहीँ कसैले सुनेका छैनन् । गण्डकी प्रदेशसभामा अहिलेसम्म पनि एकजना सांसद छैनन् । मनाङ (ख) बाट निर्वाचिन दीपक मनाङे जेल पसेपछि अहिलेसम्म चुनावको कुनै चर्चा चलेको छैन । कहिलेकाहीँ प्रदेशसभामा सांसदहरुले कुरा उठाउने गरेपनि त्यसको निचोड चाहीँ निस्किएको छैन ।

निर्वाचनको एक वर्ष नबित्दै कायम रहेका जनप्रतिनिधिलाई राजीनामा दिन लगाएर उपनिर्वाचन गर्ने चर्चा चलाउने सरकारलाई मनाङ जनप्रतिनिधि विहिन भएको जानकारी पटक पटक सम्बन्धित पक्षले गराएपनि सुनुवाई भएको छैन ।

गत साल प्रदेश तथा प्रतिनिधि सभाको पहिलो चरणमा मंसिर १० गते मनाङमा निर्वाचन भएको थियो । निर्वाचन भएर मत परिणाम घोषणा भएपनि त्यहाँबाट निर्वाचित प्रदेश सभा सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे सपथ ग्रहण गर्नुभन्दा पहिले नै जेलमा परेका थिए ।

तत्कालीन एमालेबाट चुनाव लड्न खोजेका उनलाई छवीका कारण टिकट दिएन । त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिए । तर पछि एमालेले आफ्नो उम्मेदवारलाई पछि हटाएर मनाङेलाई सघाएको थियो ।

चुनाव भएको १ बर्ष वित्न लाग्दा समेत शपथ नलिएका उनको पद खारेज भैसकेको छ । मनाङे कारागार चलानसँगै रिक्त बनेको मनाङ (ख) मा उपनिर्वाचन गर्ने बारे कुनै तयारी भैनसकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले संघीय सरकारले आयोगसँग छलफल गरेपछि मात्रै निर्वाचन गराउने बताए ।

‘यो सरकारको सक्रियतामा भर पर्ने विषय हो, नयाँ शासकीय प्रणाली अनुसार सम्बन्धित सरकारले केन्द्र सरकारलाई जानकारी गराउने र केन्द्र सरकारले आयोगलाई जानकारी गराउँदा राम्रो हुन्छ, उनले भने–तर, यो विषयमा स्पष्ट कानुन छैन । हामीसँग कुनै सल्लाह पनि गरिएको छैन ।’ आयोगका अनुसार २५ ठाउँ जनप्रतिनिधि विहिन भैसकेका छन् । यसमा स्थानीय तहदेखि प्रदेश र संघसमेत समावेश गरिएको छ ।

आयोगलाई मिति तोक्ने अधिकार मात्र रहेकोले चाँजोपाँजो सरकारले मिलाउनुपर्छ । गण्डकी प्रदेशको प्रदेश सभा सचिवालयका सचिव शम्भु खड्काले सपथ नलिएका कारण मनाङ ‘ख’ मा चुनाव जित्ने उम्मेदवारको मान्यता नै नभएको बताए । गण्डकी प्रदेशको प्रदेश सभा बैठकमा केही महिना अगाडि प्रदेश सभा सदस्य कृष्ण थापाले मनाङमा उपनिर्वाचन हुनुपर्ने विषय उठाएका थिए । तर, आधिकारिक रुपमा नै पद रिक्त भएको वा नभएकोमा प्रदेश सभा सचिवालयमा कुनै जानकारी भने आएको छैन ।

‘सपथ नलिएपछि निर्वाचित भएको मान्यता नै हुँदैन, अर्को कुरा हामीलाई आधिकारिक र औपचारिक जानकारी आएको छैन, खड्काले भने–आधिकारिक नभईकिन हामीले पद रिक्त भयो भनेर घोषणा गर्न पनि सक्दैनौं । यो विषयमा स्पष्ट कानुन पनि छैन ।’