उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण

 

काठमाडौं, असोज २४ ।

आगामी उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले आगामी मंसिर १४ गते शनिबार सम्पन्न हुने उपनिर्वाचनका लागि ती मतदान केन्द्र तोकेको हो ।

बढीमा एक हजार १०० मतदाताका लागि एक मतदान केन्द्र रहनेगरी आयोगले मतदान केन्द्र निर्धारण गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव गिरिजा शर्माद्वारा जारी विज्ञप्तिमा उपनिर्वाचन हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा कुल २४७ स्थलमा ५३७ मतदान केन्द्र रहने जनाइएको छ ।

८०० वा सोभन्दा बढी मतदाता रहेका मतदान केन्द्र ३३७ रहेका र ८०० भन्दा कम मतदाता रहेका केन्द्र २०० रहेका पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो दिन प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिका वडाध्यक्ष ४३ गरी कुल ५२ पदका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन व्यवस्थापनको तयारी अगाडि बढिरहेको पनि आयोगले सोही विज्ञप्तिमा जनाएको छ ।

आयोगले असोज २३ गते उपनिर्वाचनका लागि अन्तिम मतदाता नामावलीसमेत स्वीकृत गरेको थियो ।

विज्ञप्तिमा अन्तिम मतदाता नामावली तयार गर्ने सिलसिलामा उपनिर्वाचन हुने ३७ जिल्लाका स्थानीय तहका १५५ वडामा मतदाता नामावली ऐन, २०७३ बमोजिम मतदाता नामावली अध्यावधिक (दाबी विरोध) कार्यक्रम सन्चालन गरिएको उल्लेख गरिएको छ ।

मतदाता पुरुषभन्दा महिला बढी

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल मतदाता चार लाख ५४ हजार ११४ रहेका छन् ।

तीमध्ये महिला मतदाता दुई लाख ३३ हजार ४०२, पुरुष मतदाता दुई लाख २० हजार ७१० र अन्य लिंगी मतदाता दुईजना रहेका छन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने कास्की जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ मा ७१ हजार ८७१, प्रदेशसभा सदस्यको निर्वाचन हुने भक्तपुर, बाग्लुङ र दाङका सम्बन्धित निर्वाचन क्षेत्रमा क्रमशः ४५ हजार १५, ३६ हजार ९२६ र ७३ हजार १७२ जना मतदाता रहेका छन् ।

मतदाता नामावलीसम्बन्धी विवरण निर्वाचन आयोगको वेबसाइटमासमेत हेर्न सकिने आयोगले जनाएको छ । (रासस)