उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल

 

विराटनगर, मंसिर २८ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार सन्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका केही स्थानमा हार्नुको मुख्य कारण स्थानीय निकायको काम–कारबारी, उम्मेदवारको चयनलगायतमात्र भएको प्रस्ट पारे ।

जनताको गुनासो सुन्नु, पारदर्शिता अपनाउनु, पार्टी सुदृढीकरण, सुशासन कायम गर्नुपर्नेजस्ता सुझाव जनताले उपनिर्वाचनमार्फत् दिएको मान्नुपर्ने उनले बताए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पार्टीभित्र एक व्यक्ति एक पदअनुसार प्रधानमन्त्री र पार्टी अध्यक्ष अलग–अलग हुनुले सरकार सन्चालन र पार्टी संगठन सुदृढीकरण अभियानमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।

उनले कालापानी र लिपुलेकका सम्बन्धमा सत्य र प्रमाणसहितको प्रतिवेदन भारत सरकारलाई बुझाइसकिएको जानकारी दिँदै अब सरकारीस्तरमा वार्ता भइ समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

उनले सीमा विवादलाई अन्तर्रा्ष्ट्रिय अदालतमा लैजानुले दुई देशबीच विवाद सिर्जना गर्नुमात्र हुने भन्दै यो समस्यालाई छलफल र वार्ताबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

नेता नेपालले आफूलाई सीमा विवाद सम्बन्धमा विशेषदूत नियुक्त गरिएको कुरा हल्लामात्र भएकाले यस्तो कुनै किसिमको जिम्मेवारी अहिलेसम्म नपाएको जानकारी दिए । (रासस)