उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि पोखरामा तनाव, झडपमा ७ घाईते

पोखरा, साउन ११ ।
पोखराको पश्चिमाञ्चल सामुदायीक अस्पतालमा सुत्केरीको मृत्यु भएपछि तनाब सृजना भएको छ । बिहीबार बिहान सुत्केरी हुनका लागि अस्पताल आएकी कास्की अन्नपुर्ण गाउँपालिका वडा नम्बर ७ लान्द्रुककी ३३ बर्षिय निसाकुमारी थापाको मृत्यु भएको हो । चिकित्सको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै आफन्तले आन्दोलन गरेका छन् । आन्दोलनको क्रममा प्रहरीसँग झडप हुँदा ७ जना घाईते भएका छन् । ४ जना प्रहरी र मृतकका आफन्तहरु ३ जना घाईते भएका हुन् ।

प्रहरी निरिक्षक विजय भण्डारी, हवल्दार मिनबहादुर पाण्डे, प्रहरीहरु रुपा परियार र डोलराज नेपाली घाइते भएका छन् । त्यसै गरि आफ्न्तहरु शोभाकर पौडेल, नरबहादुर थापा र रेशम थापा घाइते भएका छन् । सुत्केरी व्यथाले च्यापेपछि बिहिबार बिहान निशा अस्पताल आएकी र बिहीबार साँझ बच्चा जन्माएको उनका भाई बसन्त थापाले जानकारी दिए । सुत्केरी भएपछि अत्यधिक रक्तश्राव भएको उनले बताए ।

अस्पताल प्रशासन चाहीँ लापरबाही नभई स्वास्थ्यका कारण मृत्यु भएको दावी गर्छ । ‘नर्मल डेलिभरी भएपछि अत्याधिक रगत बग्यो । त्यसपछि हामीले पाठेघरको अपरेसन ग¥यौं,’ अस्पताल भन्छ, ‘अपरेसन पछि पनि रगत बग्न नछोडेपछि उनको मृत्यु भएको हो ।’ निशाका आफन्त र छिमेकीले चिकित्सकको लापरबाहीले निशाको मृत्यु भएको भन्दै नाराबाजी सहित प्रदर्शन गरेका छन् ।