उद्योग बाणिज्य संघलाई राजनीतिबाट जोगाउन मेरो उम्मेदवारी–अधिकारी

पोखरा, भदौ २५ ।

पोखरा उद्योग बाणिज्य संघमा अध्यक्षका उम्मेदवार दामु अधिकारीले संघभित्र राजनीति पस्न नदिन उम्मेदवारी दिएको दावी गरेका छन् । सोमबार उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले संघ राजनीतिक चपेटामा परेको भन्दै त्यसबाट जोगाउनका लागि मतदाताले आफुलाई भोट हाल्ने बताए । अधिकारीले आफूलाई अधिकांश पूर्व अध्यक्षहरुको पनि साथ र समर्थन रहेको दावी गरे ।

सो समूहबाट महासचिवमा उम्मेद्वारी दिएका किसान सुनारले युवा र सबल नेतृत्वका लागि आफूले उम्मेद्वारी दिएको बताए । उम्मेद्वारी दर्तागर्न समावेशी ब्यबसायी समूहको सचिवालय रहेको प्रस्याङबाट सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुँदै पोखरा उद्योग वाणिज्य संघको कार्यालयसम्म जुलुश निकालिएको थियो । ¥यालि सहित उद्योग बाणिज्य संघमा पुगेर सबै उम्मेदवारहरुले मनोनयन दर्ता गराए । संघको अध्यक्षमा उम्मेदवारी दिन ५ जना प्रश्तावक र १० जना समर्थक अनिवार्य छ ।

उनको प्यानलबाट बरिष्ठ उपाध्यक्षमा यदुनाथ अधिकारी, उद्योगतर्फको उपाध्यक्षमा गीता तिवारी गौतम, वाणिज्यतर्फको उपाध्यक्षमा यमनाथ पौडेल, महासचिवमा किसान सुनार, कोषाध्यक्षमा प्रेम भुजेल र उप–महासचिवमा सीता बरालले उम्मेद्वारी दर्ता गरेका छन् । सदस्यहरुमा नारायण पौडेल, डि.बि. भुजेल, पवित्रा गुरुङ, तेजेन्द्र पौडेल, सोवित पौडेल, नगेन्द्र सुवेदी, नगेन्द्र पोखरेल, चन्द्रा शर्मा, उमराज बास्तोला र रुद्र लुईंटेलले उम्मेद्वारी दर्ता गरे ।
नेकपा निकट भनिएको समाबेशी समूहबाट वस्तुगततर्फ ज्ञानबहादुर नेपाली, श्रीप्रसाद घले, चिन्तामणी बास्तोला र तारानाथ ढुंगानाले उम्मेद्वारी दर्ता गरे । कर्पोरेट २ र उद्योगतर्फको १ सदस्य भने खुला प्रतिश्पर्धाका लागि समूहमा नराखिएको अधिकारीले बताएका छन् ।