आहा रारा गोल्डकप–सुदुरपश्चिमले लियो आयोजकसँग बदला

प्रकाश ढकाल
पोखरा, माघ ९ ।
आयोजक सहारा क्लव पोखरालाई ३–० गोलअन्तरले पराजीत गरी सुदुरपश्चिम ११ ले अघिल्लो प्रतियोगिताको बदला लिएको छ । अघिल्लो संस्करणमा सुदुरपश्चिम सहारा क्लवसँग ४–० को फराकिलो अन्तरले पराजीत भएपछि उद्घाटन खेलबाटै बाहिरिएको थियो । सोमबारको खेलमा सुदुरपश्चिमका लागि धनबहादुर थापा, मनिराम चौधरी र राकेश हमालले गोल गरे । २५ औं मिनेटमा धनबहादुर थापाको गोलबाट अग्रता लिएको सुदुरपश्चिमका लागि ७८ औं मिनेटमा मनिराम चौधरीले दोश्रो गोल गरे । थपिएको अन्तिम मिनेटमा सुदुरपश्चिमका लागि राकेश हमालले थप १ गोल गरी ३–० को नतिजा निकाले ।
प्रतियोगिता अवधीभर राम्रा अवसर पाएपनि सदुपयोग गर्न नसकेपछि आयोजक सहारा उद्घाटनबाटै बाहिरिएको छ । खेलपछि पत्रकारहरुसँग कुरा गर्दै सहारा क्लवका प्रशिक्षक किरण श्रेष्ठले विदेशी खेलाडी खेलाउन नपाउदा जीत गुमेको प्रतिक्रिया दिएका छन् । सहारा क्लवले बोबी र शाहेद (अफ्रिकन खेलाडी)लाई टीमबाट खेलाउँदै आएको थियो । तर वर्कपरमीट नभएका खेलाडीलाई प्रतियोगितामा समाबेश नगराउने आफ्नै नियमका कारण सहारा पराजीत भएको छ । प्रशिक्षक श्रेष्ठले धेरै अवसर गुमाएपछि सफलतबाट चुकेको बताए ।
सुदुरपश्चिमका प्रशिक्षक सुरेश हमालले सोचेभन्दा राम्रो नतिजा निकालेको बताए । सहारा क्लव बलियो भएपनि फिनिसिङ राम्रो नभएको उनको प्रतिक्रिया छ । सुदुरपश्चिमबाट पहिलो रोजाईका दुई खेलाडी अनुपस्थित भएको भन्दै उनले आउँदो खेलमा फर्मको टीम मैदाम उत्रिने बताएका छन् । सहारा १२ औं संस्करणको विजेता टीम हो भने दुई पटक सम्म फाईनल पुगेर पराजीत भएको थियो । प्रतियोगितामा सुदुरपश्चिमका मनिराम चौधरी म्यान अफ दि म्याच घोषित भएका छन् । उनले नगद १० हजार सहित ट्रफी पाएका छन् ।

तस्विर-सुदर्शन रञ्जित