आफ्नै साथीकाे हत्या गरी बारीमा गाडेको आरोपमा ज्ञान बहादुर सहित ४ पक्राउ

गिता राना मगर, पोखरा ।
आफ्नै साथीलाई मारेर बारीमा खाल्डो खनी गाडेकोे आरोपमा कास्की प्रहरीले चारजना युवालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १४ सैतरामा रहेको सुकुम्बासी बस्तीमा एक महिना अगाडी विमल रानाभाटलाई घनले हानेर मारेपछि नजिकैको मकैबारीमा खाल्डो खनी पुरेको आरोपमा सोही ठाउका ज्ञान बहादुर परियार सहित चारजनालाई कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान अगाडी वढाएको छ ।

पक्राउ पर्नेमा घटनाका मुख्य आरोपी ज्ञान बहादुर परियार, सागर परियार, कुमार परियार र सञ्जय दर्जी रहेका छन । मुख्य गरी ज्ञान बहादुर परियारले घनले हानेर मारेको र मृतकको लाश लुकाउनका लागी सहयोग गरेको आरोपमा अन्य तीनजना पक्राउ परेका हुन ।

करिव एक महिना अगाडी रानाभाटलाई परियारले आफ्नै कोठामा घनले हानेर मारी नजिककैको बारीमा पुरेको र शुक्रबार मात्रै कास्की प्रहरीले घटनास्थलमा पुगी रानाभाटको शव बारीमा गाडेको अवस्थामा फेला पारी त्यहांबाट निकाली पश्चिमाञ्चल अस्पतालमा पोष्टमार्टमका लागी लगिएको कास्की प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छभने मृतक रानाभाट र आरोपित परियारको श्रीमती बीच अनैतिक सम्बन्ध रहेका कारण परियारले रानाभाटको योजनाबद्ध रुपमा ज्यान लिइ बारीमा गाडेको स्थानियहरुले वताएका छन । मृतकको घर परिवारमा वेमेल भएका कारण पनि उनको परिवारले एक महिना सम्म हराउदापनि खोजीकार्य नगरेको समेत स्थानियले वताएका छन ।