आन्दोलनमा तरुण नेता घाइते भएपछि प्रधानमन्त्रीलाई भेट्न देउवा बालुवाटार

काठमाडौं, साउन ५ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगी उनले प्रधानमन्त्रीलाई त्यसबारे ध्यानाकर्षण गराएका हुन् ।

शनिबार बानेश्वरमा तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रहार गरेको थियो । जसमा तरुण दलका अध्यक्ष जितजंग बस्नेत लगायत घाइते भएका थिए । डा गोविन्द केसीको माग पूरा गर्न दबाब दिन तरुण दलले प्रदर्शन गरेको थियो ।

त्यस्तै शनिबार नै त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने क्रममा नेविसंघका कार्यकर्ताहरु पक्राउ परेका थिए । आफुहरुको आन्दोलनलाई दमन गर्ने प्रयास गरे थप सशक्त रुपमा प्रतिवाद गर्ने देउवाले चेतावनी दिएको उनका एक सहयोगीले बताए ।

भेटमा देउवाले तत्काल डा केसीसँग सार्थक वार्ता गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।