आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्दै यती, तारासँग मर्ज गरेर १९ वटा जहाज

काठमाण्डौं, कार्तिक १२ ।
यती एयरलाईन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारी गरेको छ । तारा एयरलाई गाभेर यतीले आफूलाई सबैभन्दा ठूलो कम्पनी बनाउन लागेको हो ।

सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा एयर चाँडै ‘मर्ज’ हुँदैछन् । आन्तरिक उडान थप बलियो बनाउने उद्देश्यले दुई कम्पनी गाभ्ने निर्णय भएको यती एयरलाइन्सका बरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले बताए ।

सन् २०१९ भित्र यती र तारा गाभेर एउटै बनाइसक्ने राईले जनाए । दुई कम्पनीलाई गाभेर आन्तरिक उडानमा सबैभन्दा ठूलो खेलाडी बन्न यतीले काम गरिरहेको हो । हाल यतीसँग ३ एटिआर र ६ जेट स्ट्रिमगरी ९ वटा विमान छन् । तारासँग ६ वटा विमान छन् । दुवै कम्पनी गाभिँदा कूल १५ विमान हुनेछन् । आन्तरिक उडान गर्ने अन्य वायुसेवा कम्पनीसँग यति धेरै विमान छैनन् । त्यसमा चार वटा एटिआर थपिँदा १९ विमान हुनेछन् यतीसँग ।

यति र तारा गाभिँदा १५ विमान र ५ सय १० सिट क्षमता हुनेछ । थप हुन लागेका ७२ सिट क्षमताका दुई र ४७ सिट क्षमताका २ गर्दा यतिसँग कूल ७४८ सिट क्षमता पुग्नेछ । बुद्ध एयरसँग ११ विमान ६ सय ८ सिट संख्या छ ।