आज राष्ट्रिय धान दिवस, ठाउँठाउँमा महोत्सव

पोखरा, असार १५ ।
आज राष्ट्रिय धान दिवस । विभिन्न कार्यक्रम गरि मनाईंदै छ । आज पोखरा १३ कसेरीमा १८ औं संस्करणको असारे रोपाई महोत्सव हुदैंछ । पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ अर्थात धान दिवसको अवसर पारेर ‘पोखरा सबै मौसमका लागि’ भन्दै रोपाइँ महोत्सव हुन लागेको हो ।

वर्षेनी आयोजना हुने रोपाइँ हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुदैं आएको छ । पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेती बारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले महोत्सव आयोजना गरेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई पेशाप्रति अभिप्रेरित महोत्सव फलदायी हुने उनले बताए । यस्तै, फेवाफाँट र हेमजामा स्थानीय समुदायले मेला आयोजना गरेका छन् । पोखरा २५ हेमजामा तेस्रो हिले महोत्सव हुँदैछ ।