आज राष्ट्रियसभा चुनाव, १० बजेदेखि मतदान

पोखरा, माघ २४ ।
आज राष्ट्रियसभाको निर्वाचन हुँदैछ । निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष तथा प्रदेशसभाका सदस्यले मत हाल्न पाउँछन् । बिहान १० देखि १ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनका लागि १४ वटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए । प्रदेश नं १ को विराटनगर, प्रदेश नं ३ को ललितपुरस्थित पाटन, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेको आयोगका निर्वाचन अधिकृतको कार्यालय नजिक सार्वजनिक स्थानमा मतदानस्थल तोकिएको छ ।
आयोगले दिएको जानकारी अनुसार निर्वाचनका लागि २१ राजनीतिक दलहरुले भाग लिन निवेदन दर्ता गराएकोमा १३ वटा राजनीतिक दलबाट ८३ जनाको उम्मेदवारी दर्ता भएको थियो । ६ जना उम्मेदवारले नाम फिर्ता लिएका र एक जनाको उम्मेदवारी रद्द गरिएको पनि आयोगले जानकारी दिएको छ । २४ जना निर्विरोध निर्वा्चित भएको र अब ३२ पदका लागि मात्रै निर्वाचन हुने आयोगले बताएको छ । आजको निर्वाचनका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसैबीच, पोखरामा चुनावको तयारी पूरा भएको छ । केहीबेरपछि हुने मतदानमा पोखराबाट २ सय २९ जनाले भोट हाल्नेछन् । कास्कीबाट अपाङ्गताको कोटामा निर्विरोध भैसकेका छन् । वाम गठबन्धनबाट एमाले उम्मेदवार रामबहादुर थापाको कागजपत्र किर्ते भएको ठहर गर्दै निर्वाचन आयोगले उम्मेदवारी रद्द गरिदिएपछि काँग्रेस उम्मेदवार प्रकाश पन्थ निर्विरोध भएका हुन् । बाँकी ७ वटा पदमा मतदान हुने निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।