आज राष्ट्रियसभाका उम्मेद्वार यसरी टुङग्याउदैछन्, दलहरु

काठमाडौँ, माघ ९।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने मिति नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार छनोट गर्ने अन्तिम गृहकार्यमा जुटेका छन् ।
आगामी माघ २४ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले १४ दिन अघि माघ १० गते बुधबारलाई उम्मेदवारी दर्ताको समय तोकेको छ ।

प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना सदस्य निर्वाचित हुने यो निर्वाचनमा दलहरुले भागबण्डाका आधारमा उम्मेदवारी दर्ता गर्न लागेका छन् । त्यसका लागि उनीहरु आन्तरिक र अन्तरपार्टी छलफलमा समेत केन्द्रीत भएका छन् ।

वाम गठबन्धनमा रहेका एमाले–माओवादी केन्द्रले यसअघि नै ५६ मध्ये ४३ सिट जित्ने दाबीसहित एमाले २९ र माओवादी १४ सिटमा चुनाव लड्ने योजनाअनुसार उम्मेदवार छनोट गरिरहेका छन् ।

त्यसमा एमालेले सोमबारको स्थायी समिति बैठकमार्फत प्रदेश नम्बर ५, ६ र ७ मा १३ जनाको नाम सार्वजनिक गरिसकेको छ । बाँकी १, २, ३ र ४ नम्बर प्रदेशमा अरु दलहरुसँग समेत छलफल गरेर मङ्गलबार बेलुकासम्म टुङग्याउँने एमालेको तयारी छ ।

एमालेले टिकट दिएका उम्मेदवार

 

प्रदेश नम्बर –५
१. रामलखन हरिजन (दलित) पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई, खुला रुपन्देही
३ं मीना बुढा (महिला) रोल्पा
४. कोमल वली (महिला) दाङ

प्रदेश नम्बर –६
१. कविता बोगटी (महिला) हुम्ला
२. नन्दा शर्मा (महिला) सुर्खेत
३. नरपति लोहार (दलित) कालिकोट
४. भैरबबहादुर श्रेष्ठ, (खुल्ला) जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) पश्चिम रुकुम

प्रदेश नम्बर ७
१. कमला ओली (महिला) कैलाली
२. इन्दु कडेरिया विष्ट (महलिा) कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला) अछाम
४. चक्रप्रसाद स्नेही (दलित) डडेलधुरा

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचमा काङ्ग्रेससँग गठबन्धन गरेर चुनावमा गएका राजपा नेपाल र सङ्घीय समाजवादी फोरम पनि यो चुनावमा वाम गठबन्धनसँग सहकार्य गर्ने मनस्थितिमा पुगेका छन् ।
अघिल्लो चुनावमा काङ्ग्रेससँगको गठबन्धनबाट खासै उपलब्धि नभएको निष्कर्षमा पुगेका यी दुई दल राष्ट्रियसभामा वाम गठबन्धनले बढी सिट दिए काङ्ग्रेससँगको सहकार्य तोड्दै गठबन्धन परिवर्तनको गृहकार्यमा लागेका हून् ।

यही योजनाअनुसार मङ्गलबार बिहान एमालेसँग राजपा र सङ्घीय समाजवादी फोरमका नेताहरुले एमाले संसदीय दलको कार्यलय सिंहदरबारमा छलफल नै सुरु गरेका छन् ।
नेपाली काङ्ग्रेसले भने सोमबारसम्ममा चार जनाको मात्रै नाम टुङ्गो लगाएको छ ।

उसले ७ नम्बर प्रदेशमा चार जना उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

 

काँग्रेसका टुङ्गो लागेका उम्मेदवारहरु (प्रदेश नम्बर ७)
१. बद्री पाण्डे (खुला ) बाजुरा
२. तारादेवी भट्ट (महिला) कञ्चनपुर
३. सेरिाम पार्की (दलित) बैतडी
४. छत्रराज जोशी (अपाङ्ग) कैलाली ।

यता माओवादी केन्द्रको सोमबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार छान्न पार्टीका तीन नेतालाई जिम्मेवारी दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र महासचिव रामबहादुर थापा बादललाई उम्मेदवार तय गर्न जिम्मा दिएको हो । माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार मङ्गलबारसम्ममा सबै नाम टुङ्गो लागिसक्ने बताइन् । प्रवक्ता भुसालले नेताहरुले प्रस्तावित नामहरुमा छलफल गरेर नाम सार्वजनिक गर्ने पनि जानकारी दिइन् ।

 

राष्ट्रियसभा निर्वाचनमा निश्चित मतदता हुने भएकाले दलहरुले सोही अनुसार उममेदवार तय गरेर गर्न लागेका हुन् ।

राष्ट्रियसभा निर्वाचनपछि बल्ल सङ्घीय संसदले पूर्णता पाउने र केन्द्रीय सरकार गठन गर्ने बाटो खुला हुनेछ । नयाँ संविधनको व्यवस्थाअनुसार सङ्घीय मुलुकमा तीन तहको सङ्घीय संरचना बनाइएको छ ।

स्थानीय, प्रदेश र केन्द्रमध्ये स्थानीय र प्रदेशको निर्वाचन भइसकेको छ भने केन्द्रमा राष्ट्रियसभाको मात्रै बाँकी छ । यो निर्वाचन सम्पन्न भएपछि मुलुक पूर्णतया सङ्घीय संरचना कार्यान्वयनको चरणमा प्रवेश गर्नेछ ।