आज रातीदेखि कास्की जिल्लाभरी निषेधाज्ञा जारी गर्ने निर्णय

पोखरा, भदौ २ ।
मंगलबार राती १२ बजेदेखि लागू हुने गरी कास्की जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र ब्यवस्थापन गर्न गठित उच्च स्तरीय समितिको बैठकले १ साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यो निर्णयसँगै सबै गतिविधि भदौ ७ गते राती १२ बजेसम्मका लागि ठप्प हुनेछ । बजारहरु बन्द हुनेछन्, सवारी साधन चल्न पाउँदैन । सरकारी र अन्य सबै कार्यालयहरु पनि बन्द गरिन्छन् । बैठकबाट निस्केपछि पोखराका मेयर मानबहादुर जिसीले भने, ‘सबै बन्द गर्नेगरी निषेधाज्ञाको निर्णय भएको छ ।’

पोखरा महानगरपालिकाले सोमबार महानगर क्षेत्र लकडाउन गर्ने निर्णय सहित जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिस पछि प्रदेशको उच्चस्तरीय समितिको बैठक सोमबार साँझ बसेको थियो । बैठकले लकडाउन वा सटडाउन भन्दा पनि कडाई गर्ने गरी निर्णय गरेको थियो ।

जिल्लाभित्र पूरै वा कुनै निश्चित क्षेत्रमा लकडाउन, सटडाउन वा निषेधाज्ञा जे गरेपनि जिल्लाको निर्णय नै अन्तिम हुने छ । त्यसैले जिल्लाको बैठकबाट यस्तो निर्णय गरिएको हो । त्यसपछि आवश्यक्ता परे पुनः थप हुनेछ ।