आज एमाले—माओवादीबीच एकता घोषणा, केन्द्रीय कमिटी ४४१ सदस्यीय

काठमाडौं, जेठ ३ ।

लामो कसरत पछि एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा बिहीबार हुने भएको छ। बिहीबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी एकता संयोजन समितिको बैठकले घोषणाको प्रक्रिया, समय र स्थान तय गरेर बेलुकासम्म एकता घोषणा हुने नेताहरुले बताएका छन्। समितिको बैठकपछि एमाले केन्द्रीय कमिटीले त्यसलाई अनुमोदन गर्नेछ । निर्णयपछि बिहीबार नै निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी दर्ता हुने पत्रकार सम्मेलनबाट घोषणा गरिनेछ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार बिहान भएको निर्णायक वार्ताले एकतालाई अन्तिम रुप दिने सहमति गरेको थियो।

बिहीबार नै बसेको एमाले स्थायी कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकता प्रक्रिया निर्णायक बिन्दुमा पुगेको ठहर गर्दै एकता संयोजन समितिको बैठकलाई पर्खिने निर्णय गरेको थियो। यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बिहीबार साँझ बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमालेसँग पार्टी एकीकरण गर्ने निर्णय गरेको थियो। प्रवक्ता पम्फा भुसालले पार्टी एकता संयोजन समितिको बैठक बसेर बिहीबार पार्टी एकता गर्ने निर्णय भएको बताइन्। पार्टी एकता गर्ने विषयमा अध्यक्षले राखेको प्रस्तावलाई बैठकले पारित गरेको उनले जानकारी दिइन्।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ । एकता अन्तर्गत एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय गरी ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ । यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य रहने लगभग सहमति भएको छ। गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए।