आउला त पोखरालाई ६ अर्व ? हरित सडकको अध्ययन गर्न कोरियाली टोली पोखरामा

पोखरा, असोज २९ ।
हरित शहर र ब्यवस्थित यातायात गुरुयोजना तयार गर्न कोरियाली टोेली पोखरा आईपुगेको छ । सुविधासम्पन्न यातायात प्रणाली र फेरिँदो प्रविधिको उपयोग मार्फत पोखराको पर्यटन विकास गर्न गुरुयोजना बनाउन लागिएको हो । अघिल्लो महिना मेयर मानबहादुर जिसीको उपस्थितिमा कोरियाली टोलीले पोखराको हरित यातायात गुरुयोजना बनाउने र त्यसका लागि आवश्यक बजेट ब्यवस्था गर्ने सम्झौता भएको थियो ।

कोरिया स्थित ग्याङवोन प्रान्तको सहयोगमा पोखराको यातायात गुरुयोजना बनाउन लागिएको छ । कोरियाली सरकारले सम्भाब्यता अध्ययनका लागि कन्सल्ट्याण्ट समेत तोकिदिएको छ । ग्रिन टेक्नोेलोजी सेन्टर नामक संस्थाले २०१९ भित्रै सम्भाब्यता अध्ययन गरिसक्ने गरी काम थालेको हो । सम्भाब्यता अध्ययन पूर्वको अवस्था बुझ्न कम्पनीका प्रतिनिधि मंगलबार पोखरा आएका हुन् । टोलीले पोखराको आवश्यक तथ्यांक संकलन गरिसकेको छ भने प्रारम्भीक अवलोकन गरेको छ ।

पछिल्ला बर्षहरुमा ब्यवस्थित गुरुयोजना नहुँदा पोखराको यातायात ब्यवस्था निकै फितलो बनेको छ । कोरियाको यातायात प्रणाली भने विश्वमा नै नमुना मानिन्छ । प्रकृतिमैत्री यातायात सञ्चालन गर्दै लामो समय पर्यटकलाई भुलाउन नयाँ अवधारणा अघि सारिएको हो । दुईपक्षबीच भएको छलफलका क्रममा पोखरा महानगरले यहाँको रिङरोड, लेक कोरिडोर र ट्रेकिङ रुट निर्माणलाई प्रश्ताव गरेको छ ।

यस्तै, सार्वजनिक यातायात र ट्राफिक ब्यवस्थापनमा पनि सहयोग खोजेको छ । कोरियाली टोलीले पोखराको आवश्यक्ता अनुसार योजना तयार गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामीसँग समय छैन । हाम्रै कार्यकालमा यो परियोजना पूरा गर्नुछ,’ कोरियन टोलीसँगको भेटमा मेयर जिसीले भने, ‘पोखरा पर्यटनको राजधानी हो । अव कार्वन फ्रि पर्यटकीय राजधानी बनाउन चाहान्छौं । तपाईंहरुको सहयोग भए यो सम्भव पनि छ ।’ पोखराको प्राकृतिक सुन्दरतालाई हेरेर पर्यटनसँग जोडिने योजना बनाईदिन उनले आग्रह गरे ।

कन्सल्ट्याण्ट टोलीका सहायक म्यानेजर किम सिउङ सुले तोकिएकै समयमा अध्ययन पूरा गरेर प्रतिबेदन बनाउने प्रतिबद्धता जनाए । ‘यही बर्ष प्रारम्भीक काम पूरा गर्छौं । आर्थिक प्रकृया पनि करिव टुंगो लागिसकेको छ । अहिले टेक्नोलोजी र फाईनान्सको पाटो महत्वपूर्ण छ,’ उनले भने, ‘दक्ष प्राविधिकले डिजाईन बनाउनुहुन्छ । यसलाई सफल पार्न पोखराले बढी साथ र सहयोग दिनुपर्छ ।’ दीगो विकास लक्ष्यसँग जोडेर योजना तयार गर्ने उनले सुनाए ।

आगामी माघसम्म प्रश्तावना तयार गरेर कोरियाली सरकारलाई बुझाउने र सन् २०२१ सम्म आयोजनाका सबै काम पूरा गर्ने गरी तीब्र गतिमा काम हुने मेयर जिसी बताउँछन् । ‘१५ दिनभित्रै अध्ययन टोली आईपुग्छ । पुसअघि नै अध्ययन प्रतिवेदन तयार हुन्छ । त्यसपछि अर्थ मन्त्रालयको सहमतिले प्रश्तावना कोरिया पठाउँछौं,’ उनले भने, ‘यो आयोजना सफल भए ६ अर्व रुपैयाँसम्म बजेट पोखरा भित्रिन्छ ।’

विशेषगरी इलेक्ट्रिकल भेइकलमा पोखराको जोड छ । सम्भाब्यता अध्ययनका लागि पोखरा महानगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । पोेखरामा हालसम्म सन् १९७४ को विकास योजना अनुसार यातायात ब्यवस्थापन हुँदै आएको छ । कोरियाली कम्पनीले हाल भियतनाम, युगाण्डा र भुटानमा पनि यही अवधारणामा काम गरिरहेको छ ।

कार्वन उत्सर्जन कम गर्न संगठित संस्था ग्रिन टेक्नोलोजी सेण्टरले यो परियोजनाको जिम्मेवारी लिएको छ । योसँगै पोखरामा ड्रिम ग्रिन ट्रान्सपोर्ट, इको टुरिजम, स्मार्ट सिटी टेक्नोलोजी, बैज्ञानिक खोज तथा अध्ययन अनुसन्धान तथा पोखराको संस्थागत विकासका लागि पनि कोरियाले सघाउने समझदारी यसअघि नै भैसकेको छ । सम्झौता अनुसार तीनै पक्षले विश्वमा बढिरहेको कार्वन उत्पादन र हरित गृह ग्याँसको प्रभाव कम गराउन साझेदारी परियोजना अगाडी बढाउने प्रतिबद्धता जनाएका छन् ।

जलवायु परिवर्तनको असर कम गराउन यो परियोजना सफल हुने दुवै पक्षको विश्वास छ । पोेखरामा रहेको टोलीलाई महानगरका इन्जिनियर दीपक कुवँरले अवधारणा प्रश्तुत गरेका थिए । यसैका लागि पोखरा महानगरपालिकाले कुवँरको संयोजकत्वमा सहजीकरण टोली गठन गरेको छ । टोलीमा विज्ञ गेहेन्द्रेश्वर कोइराला, श्रीराम ढकाल, किसानसिं गुरुङ सदस्य छन् । विज्ञहरुले कम्तिमा ५० बर्षसम्म पूरानो नहुने गरी योजना बनाउन सुझाएका छन् ।