आइसिसी विश्वकप छनोटमा नेपाल पहिलो पटक वेस्टइन्डिजसँग खेल्दै

पोखरा, असार ७ ।
आइसिसी विश्वकप छनोट अन्तर्गत नेपालले आज वेस्टइन्डिजको सामना गर्ने भएको छ । नेपाल पहिलो पटक विश्वकप विजेता टोलीसँग खेल्न लागेको हो ।

विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा चार पटकको विश्वकप विजेता वेस्टइन्डिजसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा सुरु हुनेछ । वेस्टइन्डिज नेपालले प्रतिस्पर्धा गर्ने इतिहासकै सबैभन्दा ठूलो स्तरको टोली समेत हो ।

नेपालले आइतबार पहिलो पटक टेस्टराष्ट्र जिम्बावेसँग खेलेको थियो । जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भयो । नेपाल टि २० मा भने आयरल्यान्ड, बंगलादेश, अफगानिस्तान र जिम्बावेसँग खेलिसकेको छ ।

ओडिआई वरियतामा वेस्टइन्डिज १० औं र नेपाल १४ औं स्थानमा छन् । पहिलो खेलमा जिम्बावेसँग पराजित भएपनि दोस्रो खेलमा अमेरिकालाई पराजित गरेकाले नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कायम छ । वेष्टइन्डिजलाई पराजित गरे नेपाल सुपरसिक्समा पुग्ने सम्भावना बलियो हुन्छ ।

वेष्टइन्डिजले पनि अमेरिकालाई पराजित गरेको छ । नेपालले अन्तिम खेल नेदरल्याण्डसँग खेल्नेछ । नेदरल्याण्ड पनि जिम्बावेसँग पराजित भएको छ ।