अस्पतालले आफैं उत्पादन गर्न थाल्यो मास्क र स्यानिटाइजर

 

विराटनगर, चैत ३ ।

कोेरोनाभाइरसको त्रास बढेसँगै बजारमा स्यानिटाइजर र मास्कको अभाव भएपछि विराटनगरको कोशी अञ्चल अस्पतालले भने आफैँ उत्पादन गर्न थालेको छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सेनिटाइजर उत्पादन गरेपछि अस्पतालमा तत्कालको समस्या टरेको हो । अञ्चल अस्पतालले पहिलो चरणमा १० लिटर सेनिटाइजर उत्पादन गरेको हो ।

बजारमा सेनिटाइजर नपाएपछि पहिलो चरणमा अस्पतालले आवश्यक सामग्रीको प्रयोग गरी विश्व स्वास्थ्य संगठनले तोके अनुसारको केमिकल प्रयोग गरी सेनिटाइजर उत्पादन गरेर प्रयोगमा ल्याएको हो ।

अस्पतालले सेनिटाइजर मात्र होइन आवश्यक पर्ने मास्कसमेत उत्पादन गर्न थालेको छ ।

ठूलो संख्यामा चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालमा आवश्यक मास्कको उत्पादन गरी प्रयोगमा ल्याइएको हो ।

डवल लियरको फिल्टर मास्क उत्पादन गरी अस्पतालले चिकित्सक र कर्मचारीलाई निशुल्क उपलब्ध गराएको छ ।

अस्पतालले उत्पादन गरेको स्यानिटाइजर र मास्क प्रदेश सरकारलाई पनि हस्तान्तरण गरेको छ ।

प्रदेश १ कै धरानस्थित विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठन पछिको ठुलो सरकारी कोशी अञ्चल अस्पतालले तीन बेडको आइसोलेशन वार्ड समेत संचालन गरेको छ ।

कोरोना संक्रमितहरुको आंशकामा विरामीको स्वास्थ्य परीक्षणका लागि आवश्यक पर्ने छुट्टै वार्ड अस्पतालले तयार गरी संचालनमा ल्याउन लागेको हो ।

उक्त अस्पतालमा दैनिक एक हजारभन्दा बढी विरामी उपचारका लागि आउने गरेका छन् । जसमा प्रदेश १ सहित सिराहा, सप्तरी, जनकपुर र छिमेकी मुलुक भारतको विहारबाट समेत उपचारका लागि आउने गर्दछन् ।
(ईमेजखबरबाट साभार)