अस्पतालको लापरबाही–९ महिने बच्चालाई २ वर्षको भन्दै उपचार गरेपछि मृत्यु

भरतपुर, बैशाख १५ ।
चितवन मेडिकल कलेजको चरम लापरबाहीको कारण गोरखा फुजेलका ९ महिने नाबालक रुप्सन घिमिरेको मृत्यु भएको परिवारले आरोप लगाएको छ । गत बिहीबार उपचारको क्रममा आईसीयूमा रहेका नाबालकको मृत्यु भएको थियो ।

मृतक नाबालकका बुबा रुपेश घिमिरेले भने, ‘अस्पतालको रिपोर्टमा ९ महिनाको मेरो बाबुलाई २ वर्षको भनेर लेखेको छ । त्यहीअनुसार उपचार गरेको पाइयो ।’ ९ महिनेको नाबालकलाई २ वर्षीय बालक भन्दै अस्पतालले मात्राभन्दा बढी डोजको औषधी दिएको उनको आरोप छ ।

नाबालकका आफन्तका अनुसार अस्पतालले मृत भएको घोषणा गरेपनि आफूहरुलाई थाहा नै नदिई बालकको शव भरतपुर अस्पताल रिफर गरेको हो । यता अस्पतालका बाल विशेषज्ञ डा. सन्तोष पाठकसँग घटनाबारे बुझ्न खोज्दा भर्खरमात्र भारतबाट भतिजको उपचार गरेर भरतपुर आइपुगेको र घटनाबारे अनविज्ञ रहेको जानकारी दिए । हाल घटनास्थलमा नेपाल प्रहरीहरु सयौंको संख्यामा परिचालन गरिएको छ । रातोपाटी