अस्ताए काँग्रेस नेता पंगेनी, देउवा सहित बरिष्ठ नेताले दिए श्रद्धाञ्जली (फोटोमा हेर्नुस्)

पोखरा, साउन २० ।
नेपाली कांग्रेस स्याङ्जाका सभापति कमल प्रसाद पंगेनीको ५६ वर्षको उमेरमा ह्दयघातबाट निधन भएको छ । भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राती सुतिरहेको अवस्थामा ह्दयघातबाट उनको मृत्यु भएको हो ।

स्याङ्जाको साविक खिलुङ्देउराली गाविस हालको भीरकोट नगरपालिका ६ मा २०१९ साल जेष्ठ १९ गते जन्मिएका पंगेनी २०३३ सालदेखि नेपाल विद्यार्थी संघ मार्फत राजनीतिक आन्दोलनमा होमिएका थिए । उनी संविधानसभाको दोस्रो निर्वाचन २०७० मा नेपाली कांग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं. २ बाट विजयी भएका थिए । उनी २०६४ र २०७४ को चुनावमा पराजीत भएपनि निरन्तर समाजसेवा र राजनीतिमा क्रियाशिल थिए ।  राजनीतिको छोटो सयममै २०४२ सालमा पंगेनी नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य बनेका थिए । कांग्रेस स्याङ्जाको राजनीतिमा प्रतिभाशालि नेतामा रुपमा देखिएका पंगेनी २०६०, २०६७ र २०७२ मा गरि तीन पटक स्याङ्जा कांग्रेस सभापति बन्न सफल भएका थिए । अन्तरजातिय प्रेम विवाह गरेका पंगेनीका एक श्रीमती एक छोरा र एक छोरी रहेका छन् ।नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालय परिसरमा राखिएको पंगेनीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोईराला, नेता शेखर कोइराला, नेता गोपालमान श्रेष्ठ, नेता धनराज गुरुङ, नेता गगनकुमार थापा, प्रदिप पौडेल लगायतले श्रद्धान्जली अर्पण गरेका थिए ।श्रद्धान्जली अर्पण गर्दै कांग्रेस सभापति देउवाले पंगेनीको निधनले कांग्रेस र देशलाई अपुरणीय क्षति पुगेको बताए । लोकतान्त्रिक बाटोबाट जनताको विकासमा पंगेनीले लिएको मार्ग मार्फत जनताको सेवामा आफूहरु समर्पित भएर लाग्ने देउवाले बताए । देउवाले एक लोकतन्त्रको पहरेदार गुमाएकोमा दुःख व्यक्त गरे ।

स्वर्गिय पंगेनीको सम्मानमा पार्टी कार्यालयबाट पुतलीबजार नगरपालिकाका प्रमुख भागको परिक्रमा गराएर शब यात्रा निकालिएको थियो । पंगेनीको आइतबार नै रामनदीधाम राम्दीमा सनातन परम्परा अनुसार अन्तिम दाहसंस्कार गरिएको कांग्रेस स्याङ्जाका सचिव कुमार रानाले जानकारी दिए ।