असारमा सक्नुपर्ने लुदीखोला पुलको काम ८० प्रतिशत बाँकी

गोरखा, असार २२ ।
गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुल निर्माणको काम अलपत्र परेको छ । असार मसान्तभित्र सक्नुपर्ने सम्झौता भएपनि ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण पुल निर्माणको काम अलपत्र परेको हो । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय लमजुङले सञ्चालन गरेको राष्ट्रिय ग्रामिण सडक यातायात सुदृढिकरण परियोजना अन्तरगत ३ करोड ४४ लाख ३१ हजारको लगानीमा पुल निर्माणको काम सुरु भएको थियो । एक बर्षमा निर्माण सक्नेगरी गत बर्षको असार २९ गते सम्झौता भएपनि हालसम्म मुस्किलले २० प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।

निर्माणको कामको जिम्मा निलगिरी अधिकारी जेभि काठमाण्डौंले पाएपनि समयमै काम नगर्दा काम अलपत्र परेको कार्यालय सिनियर डिभिजन ईन्जिनियर राम पराजुलीले बताए । ‘काम ढिलो भएकै हो, हामीले पनि बारम्बार ताकेता ग¥यौ, तर भन्दा भन्दैपनि ठेकेदारले अटेरी भयो ।’

सम्झौता भएपछि सुरुको केही समय जग्गा विवाद भएपनि पछिल्लो समय भने कुनै समस्या नभएको उनको भनाई छ । ‘सुरुमा पुल निर्माण हुने ठाउँमा जग्गा विवदाले केहि समय काम रोकिएको हो, तर सिलन्यास भएपछि काममा कुनै अवरोध छैन’ ईन्जिनियर पराजुलीले भने ‘जति हुनुपर्ने हो फिल्डमा काम भएको छैन, यसमा कार्यालयको कुनै कमजोरी भएको होइन, ठेकेदारबाटै ढिलाई भयो ।’

२१ दशमलव ७ मिटर लम्बाई रहने उक्त पक्की पुलको शिलन्यास गण्डकी प्रदेशका भौताकि पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गरेका थिए । शिलन्यास कार्यक्रममा मन्त्री बस्नेतले ठेकेदारलाई समयमा काम नसके भुक्तानी नदिने बताएका थिए । परियोजना अन्तरगतको काम भएकाले समयअवधी समेत कुनै हालतमा थप्न नमिल्ने बस्नेतले बोलेका थिए ।

तर ठेकेदार डालनाथ अधिकारीले पुल निर्माणका क्रममा हालसम्म करिब ३० लाख रुपैया कार्यालयबाट भुक्तानी लिइसकेका छन् भने समयअवधी समेत थप गर्नेबारे गृहकार्य भइरहेको बताईएको छ । ‘सुरुवाती चरणमा जग्गा विवादका कारण काममा ढिलाई भएकै हो, त्यस कारण पनि केहि समय दिनुपर्ने हुन्छ’ कार्यालयका ईन्जिनियर पराजुलीले भने ‘सम्झौता भएको समयावधीको आधा समय थप गर्न सक्ने हाम्रो प्रावधान छ, तर निर्णय भइसकेको छैन, ६ महिना थप हुन सक्छ ।’

यता ठेकेदार डालनाथ अधिकारी भने कार्यालयको ढिलासुस्तीकै कारण निर्माणको काममा ढिलाई भएको बताउछन् । ‘कार्यालयले नै पिलर बाहेक अरु काम नगर्नुस भनेको हो’ उनले भने ‘समयमा कुनै डिसिजन नदिने, कामको जिम्मेवारी पनि नदिने, भुक्तानी पनि समयमा नदिने, अनि काम कसरी समयमा सक्किन्छ ?’ उनले कार्यालयले भुक्तानी मै महिनौ दिन झुलाएको आरोप समेत लगाएका छन् ।

उक्त पुल निर्माण नहुदा अहिले त्यस क्षेत्र भएर आवतजावत गर्ने सर्वसाधारणलाई समस्या हुदै आएको छ । यो मार्गबाट जिल्लाको दक्षिण पुर्वका बक्राङ, ताक्लुङ, फुजेल, मनकामना, घैरुङ, नामजुङ्ग, ताङलिचोक, मकैसिङ, दरर्बुङ, भूम्लिचोक तथा घ्यालचोक लगायतका बासिन्दा हिडडुल गर्ने गर्छन् ।
पत्रकार मोहसिन अलिमियाले यो खवर लेखेका हुन् ।