असहायलाई सहयोग गर्न डायमण्ड बुद्धिष्ट सेन्टरले दियो साढे २ लाख

पोखरा, जेठ १० ।
कोरोना भाइरसको महामारीले विश्व लकडाउनको अवस्थामा छ । विश्व मानव जातिका लागि अत्यन्तै चुनौति बनेको कोरोना महामारीका कारण हासम्म विश्वमा ५३ लाख भन्दा बढी संक्रमित छन् भने ३ लाख ४० हजार भन्दा बढीको मृत्यु भैसकेको छ ।

बेलायतमा मात्रै २ लाख ५४ हजार संक्रमित छन् भने ३६ हजार ३ सय ९३ जनाले ज्यान गुमाए । नेपालमा पनि यसको असर निरन्तर बढिरहेको छ । हालसम्म ५ सय ४८ जनामा संक्रमण पुष्टी भएको छ । कोरोनाको कठिन अवस्थामा युकेस्थित डाइमण्ड बुद्धिष्ट सेन्टरले पोखराका असहाय, अपाङ्गता भएका र जेष्ठ नागरिक तथा बुद्ध शिक्षार्थीलाई राहतका लागि आर्थिक सहयोग पठाएको छ ।

तमु साँस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष चित्रबहादुर गुरुङ र कोषाध्यक्ष कौशिला गुरुङलाई बौद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङ, डाइमण्ड बुद्धिष्ट सेन्टरका सक्रिय सदस्य तथा मण्डप सचिव चन्द्र गुरुङ, उनकी धर्मपत्नी धनज्योति गुरुङ र सक्रृय सदस्य हरिकाशी गुरुङले २ लाख २६ हजार ४ सय ८४ रुपैया हस्तान्तरण गरेका हुन् ।

यस्तै, बौद्ध अर्घौ सदनमा बुद्ध शिक्षा अध्ययनरत ट्हबाहरुलाई खाद्यान्नका लागि डाइमण्ड बुद्धिष्ट सेन्टर युकेको तर्फबाट ३० हजार र साउथ इष्ट रिजनल तमु धि युकेद्धारा २० हजार गरी ५० हजार गुम्बाका प्रमुख लामा खेन्पो शिर लामा गुरुङलाई हस्तान्तरण गरिएको छ ।

डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव सामाजिक अभियन्ता योगेश गुरुङको संयोजकत्वमा एक हप्तासम्म सेण्टरका सदस्यहरुबाट रकम संकलन गरेर नेपाल पठाईएको हो । ‘अहिलेको अवस्थामा अपाङ्गता भएका र असहायहरु बढी समस्यामा परेका छन् । सामान्य मान्छेले मागेर खान सक्छन् तर उनीहरुको पीडा कसले सुन्ने ?,’ उनले भने, ‘दुखमा थोरै भएपनि मलम लगाउन सहयोग गरिएको हो । सहयोग गर्न पाउँदा निकै खुशी लागेको छ ।’

अरु संघ संस्थाले पनि दुखका बेला सहयोग गर्नुपर्ने उनी बताउँछन् । ‘च्याउ उम्रिएजस्ता संघ संस्था छन् । देशलाई दुख परेको बेला कता छन् ?,’ उनले अघि भने, ‘यस्तो बेला पुण्यको काम नगर्ने हो भने बुद्धको माला जपेर कुनै अर्थ छैन ।’

कोरोनाले युके नै आक्रान्त छ । तर आफ्नो जन्मभूमीप्रतिको मायाले गर्दा सहयोग गरेको सोसाइटीका अध्यक्ष सुमलकुमार गुरुङले बताए । यसरी नै तमु साँस्कृतिक प्रतिष्ठान नेपालकी कार्यालय सचिव मिरा गुरुङलाई डाइमण्ड बुद्धिष्ट सेन्टर युकेका महासचिव समेत रहेका योगेश गुरुङले ५ हजार र प्रतिष्ठानका निवर्तमान अध्यक्ष तथा राहत कार्यक्रममा नेपाल संयोजक चिजकाजी गुरुङले २ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे ।

डाइमण्ड बुद्धिष्ट सेन्टरका मण्डप सचिव चन्द्र गुरुङले युकेमा स्थापना गरेको संस्था डिबिसी मार्फत पोखरामा असहाय, अपांगहरुलाई राहत प्रदान गर्न सहयोग गर्न पाउदा मनमा शान्ति मिलेको बताए । बैद्ध अर्घौ सदनका प्रमुख लामा खेन्पो शिर लामा गुरुङले कोरोनाको महामारीमा असहाय अपांग र बुद्ध शिक्षार्थीलाई सहयोग गरेकोमा डिबीसीलाई धन्यवाद दिए ।

सामाजिक अभियान्ता योगेशले केही महिना अघि भुपू खेलाड मञ्चद्धारा पोखरामा आयोजित अन्तराष्ट्रिय म्याराथनमा पनि ठूलो आर्थिक सहयोग जुटाएका थिए । म्याराथन सफल बनाउन मातृभुमिका लागि अभियान गरी ७ लाख ५१ हजार रुपैया हस्तान्तरण गरेका थिए । भुकम्पको पीडामा सिन्धुपाल्चोक जिल्लाको हैबुङमा विद्यालय निर्माणका लागि उनले विशेष भुमिका निर्वाह गरेका थिए ।