असल पत्रकार समाते जेलभित्रै आन्दोलन–आचार्य, पत्रकार ढकाल पुरस्कृत (भिडियाे)

पोखरा, भदौ ८ ।
पोखराका पत्रकार रुपनारायण ढकाल पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको गजेन्द्र भण्डारी सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कारबाट ढकाललाई सम्मान गरिएको हो । शुक्रबार विशेष कार्यक्रमका बीच नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले २५ हजार नगद सहित सम्मापत्र र दोसल्लाले ढकाललाई सम्मान गरे ।

सम्मानपछि अध्यक्ष आचार्यले हाल कार्यान्वयनमा आएको मुलुकी संहिताका बिषयमा पत्रकार महासंघ गम्भीर भएको बताए । उनले केही बुँदाहरु पूर्ण प्रेस स्वतन्त्रताको विरोधी देखिएको भन्दै सच्याउनका लागि दवावमुलक कार्यक्रम गर्नुपर्ने बताए ।

‘महासंघले पत्रकारिता विरोधी संहिताको संशोधन हुनुपर्ने माग राखेको छ । सुरुमा अन्तरक्रिया गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने कार्यक्रम तय भएको छ, उनले भने–त्यसपछि पनि सुनुवाई नभए चरणबद्ध रुपमा संघर्षका कार्यक्रम गर्नेछौं । पूर्ण प्रेस स्वतन्त्रता कायम हुनुपर्छ मन्ने हाम्रो अडान हो ।’

उनले हालको ब्यवस्थाले कुनै पत्रकार जेल गए जेलबाटै आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । ‘यही संहिताका कारण कुनै असल पत्रकार जेल गयो भने पक्राउ गरिएकै ठाउँबाट महासंघले आन्दोलन थाल्छ, उनले भने–असल नियतले गरिने पत्रकारिता र समाजलाई सुसुचित गराउन लेखिने समाचारहरुमा सरकारले अंकुश लगाउन पाउँदैन । सबै पत्रकार मिलेर विरोध गर्छौं ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले संहीतामा सबै राजनीतिक दलका नेताहरुले कमजोरी गरेका भन्दै पत्रकार बीच अनावश्यक टिप्पणी आवश्यक नभएको बताए । ‘काँग्रेसकै सरकार हुँदा कानुनमन्त्रीले टेवुल गरेर पास भएको संहिता हो । यसमा ओलि, प्रचण्ड सबैको हस्ताक्षर छ, उनले भने–अहिले बाम सरकारले ल्याएको भनेर अनावश्यक राजनीतिकरण गर्नु जरुरी छैन । आफ्ना मुद्धामा पत्रकार एकजुट हुनुपर्छ ।’ जसले ल्याएपनि गलत कुराको विरोध गर्नुपर्ने ज्ञवालीको भनाई छ ।

सम्मानित पत्रकार रुपनारायण ढकालले चाहीँ पछिल्लो समय पत्रकारिताको मर्म मर्न थालेको भन्दै जिम्मेवार हुन सबैलाई आग्रह गरे । पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले असल ब्यक्तिको छनौटले पुरस्कारको गरिमा पनि उचो हुने बताए । साविक प्रेस चौतारीका अध्यक्ष माधव बराल, प्रेस युनियनका अध्यक्ष शिरोमणी बराल, प्रेस सेण्टरका घनश्याम पाण्डे लगायतले पनि मुलुकी संहिताको विरोध गरे ।