अष्ठधातु मूर्ति निर्माणका लागि पोखरामा हुने महायज्ञको तयारी पुरा

 

पोखरा, पुस २४ ।

धार्मिक पर्यटकिय क्षेत्र देवघाटमा ३० फिट अग्लो अष्ठधातुको शंकर मूर्ती निर्माण अभियान सफल पार्नका लागि पोखरामा शुक्रबारदेखि अष्ठधातु संकलन तथा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भएको आयोजक समितिले जानकारी गराएको छ ।

देवघाट संरक्षण प्रतिष्ठान चितवनको आयोजना तथा नागढुङ्गा आमा समुहको संयोजनमा यहि पुष २५ देखि माघ ४ गते सम्म पोखराको एयरपोर्टस्थित उत्तरतर्फको गेट अगाडी उक्त महायज्ञ सञ्चालन गरिन लागेको हो । महायज्ञको शुक्रबार दिउँसो गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्रि विकास लम्सालले उद्घाटन गर्नेछन् ।

त्यसअघि महायज्ञस्थलबाट शोभायात्रा गरिने जनाइएको छ । विहान ८ बजे महायज्ञस्थल एयरपोर्टबाट शुरु हुने शोभायात्रा हर्कचोकबाट रत्नचोक हुँदै सृजनाचोक, पृथ्वीचोक परिक्रमा गरि नागढुंगा भएर एयरपोर्टस्थित महायज्ञस्थलमै पुगेर टुंगिने स्थानिय संयोजनकर्ता एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष सावित्री घिमिरेले जानकारी दिइन् ।

महायज्ञमा सहभागिका लागि पोखराका विभिन्न संघसंस्थालाई पत्राचार, माइकिङ तथा विभिन्न सञ्चारमाध्यमबाट जानकारी गराइएको अर्को संयोजनकर्ता नागढुंगा आमा समुहका अध्यक्ष लक्ष्मी गिरीले बताइन् ।

आयोजक प्रतिष्ठानका महासचिव मदनराज मिश्रले महायज्ञमा ५ हजार दान गर्नेलाई संस्थाको आजिवन सदस्यता प्रदान गरिने, १५ हजार दान गर्ने दाताले एकजनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, २५ हजार दान गर्ने दाताले दुई जनाको स्मृतीमा शिलालेख लेखाउन पाउने, ५१ हजार दान गर्नेको ५ जनाको नाम लेखाइने तथा १ लाख माथि दान गर्नको संस्थापक एवं परिवारको फोटो सहित शिलालेख लेखाइने जानकारी दिए । ५ लाख माथि दान गर्ने दातालाई संरक्षक सहित पतिपत्नीको फोटो शिलालेखमा राखिने पनि मिश्रले बताएका छन् ।

महायज्ञका प्रमुख बाचक पंडित बालकृष्ण अर्याल रहेका छन् ।

पोखरेली कलाकारद्वय युवराज लामिछाने र तिलबीर सेञ्चुरीले उक्त मूर्ती निर्माण गर्दैछन् ।