अव मनाङमा पनि जहाज जाने, सिमरामा पनि उडानको तयारी

पोखरा, पुस ८ ।
पोखरादेखि बाराको सिमरा तथा पोखरा–मनाङ सिधा जहाज सञ्चालन हुने भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७५÷०७६ को नीति कार्यक्रममार्फत पोखरालाई सातवटै प्रदेशसँग हवाईमार्गबाट जोड्ने उल्लेख गरेको छ ।

सोही नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सोमबार प्रदेशका पर्यटनमन्त्री विकास लम्सालसहित छलफलमा बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको टोली र स्थानीय तहका जनप्रतिनिधीहरुले माघ दोश्रो सातादेखि पोखरा–सिमरा जहाज उडाउने निर्णय गरेका हुन् ।

निर्णयानुसार पुस २४ गते मनाङको हुम्डे विमानस्थलमा पोखरादेखि जहाजले उडान भर्नेछ । लामो समयदेखि बन्द रहेको यो विमानस्थललाई नै सञ्चालन गरिने भएको हो । तत्कालको लागि साप्ताहिक रुपमा उडान भर्ने भएतापनि यात्रु भएको खण्डमा भने नियमित सञ्चालन गर्न सकिने मन्त्री लम्सालले जानकारी दिए ।

उता बाराको सिमरा उड्ने जहाजले भने माघ दोश्रो सातादेखि उडान भर्नेछ । दुवै ठाउँका लागि आवश्यक तयारी थालिएको र विमान स्थलको प्राविधिक अवस्थाबारे अध्ययन गर्न प्राधिकरणले केही दिनमै टोली पठाउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले जानकारी दिए ।

उनका अनुसार जहाज उडानका लागि यात्रु सुनिश्चितताको जिम्मा सम्बन्धित स्थानिय तहले लिनुपर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्झौंता गर्ने छ । यात्रु सुनिश्चितताको जिम्मा सिमराको लागि जितपुर उपमहानगरपालिका र मनाङ जिल्लाका स्थानिय तहहरुले सहमति जनाइसकेका छन् ।

२०७१ बैशाख देखि मनाङको एकमात्र हुम्डे विमानस्थलमा कुनै पनि एयरलाइन्सले उडान भर्न नसक्दा मनाङको जनजीवन प्रभावित हुँदै आएको थियो । समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा रहेको हुम्डे विमानस्थलमा ०३९ साल असोजबाट निगमले मनाङ–पोखरा र पोखरा–मनाङको उडान भर्न सुरु गरेको थियो । अब मनाङमा उत्पादन हुने स्याउ, जडीबुटी आदि हवाई सेवा बाट निर्यात गर्न सहजहुने भएको छ भने विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आन्तरिक तथा विदेशी पर्यटक बढ्न सक्ने अनुमान गरिएको छ ।

सिमरा जितपुरमा भने पोखरादेखि पहिलो पटक जहाज उड्ने छ । उक्त स्थान बाट जहाज उडान भर्न थालेपछी पर्यटकीय तथा व्यापारिक गतिविधी बढ्ने अपेक्षा लिईएको छ ।

उडान सञ्चालन भएपछि प्रदेश सरकारले लिएको पर्यटन सम्बन्धि लक्ष्य पुरा गर्न सहज हुने मन्त्री विकास लम्सालले बताए । गण्डकी प्रदेश सरकारको सन् २०२० सम्म २० लाखपर्यटक भित्र्याउने लक्ष्य अनुरुपनै पर्यटक मैत्री पूर्वाधारको विकास गर्नेकाम अगाडी बढिरहेको उनले बताए ।

पोखरा बाट सातै ओटा प्रदेशका लागि सिधा हवाई जहाज उडान भर्न आवश्यक तयारी थालिएको र नेपालनागरिक उड्डयन प्राधिकरणलाई यथाशक्य छिटो अन्तरप्रदेश भित्र उडान तालिका सार्वजनिक गर्न निर्देशन दिइएको लम्सालको भनाई छ । मुलुकको व्यापार घाटा कम गर्न तथा बिदेशीतथा स्वदेशी पाहुनाको सहज, सरल र सुविधायुक्त आगमनका लागि पोखरा बाट सातै प्रदेशका लागि जहाज उडाउने कार्य अगाडि बढाइएको हो ।

यस्तै सरकारले हरेक स्थानीय तहमा हेलिप्याड बनाउने नीतिअनुरुप स्थानीय तहसँग समन्वय गरि यो कार्यलाई पनि अगाडि बढाइएको उनले बताए ।