अव बाईकलाई ५ लिटरमात्रै पेट्रोल दिईने, देशैभरी पेट्रोलियम पदार्थको अभाव

काठमाण्डौं, असोज ५ ।
सरकारले पेट्रोलियम पदार्थको विक्री वितरणमा कोटा तोकेको छ । ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति असहज भएको भन्दै सरकारले पेट्रोल, डिजेलको विक्री वितरणमा कोटा तोकेको हो ।

नेपाल आयल निगमले पत्राचार गर्दै नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार विक्री वितरण गर्न भनेको छ ।

निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा पाँच लिटर मात्र पेट्रोल दिन भनिएको छ । यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउन भनिएको छ ।

एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्रि वितरण गर्न निर्देशन दिइएको छ । मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको छ ।