अव पोखराको लेकसाईड कतिबेलासम्म खुल्छ ?, यस्तो छ विवाद

पोखरा, साउन २१ ।
पोखराको लेकसाईलाई चौविसै घण्टा खोल्ने बिषयमा धेरै पहिलेदेखि वहस चल्दै आएको हो । तर अहिलेसम्म यसको टुंगो लागेको छैन । रेष्टुरेण्ट एण्ड बार एशोसियसनले चौविसै घण्टा खोल्न लविङ गरिरहेका बेला लेकसाईडमै रहेको पश्चिमाञ्चल होटल संघ सहित आमा समूह र केही ब्यवसायीहरु चाहीँ होटलबाहेकका ब्यवसाय ९ बजे नै बन्द गर्नुपर्ने माग सहित उच्च अदालत पुगे । हान अध्यक्ष विकल तुलाचन, पूर्व अध्यक्ष गोविन्दराज पहारी, व्यवसायी मंगल नेपाली सहित ४२ जनाले स्थानीय बासिन्दा र पर्यटकलाई समेत लेकसाइडमा बस्न असहज भएको भन्दै होहल्ला गर्ने ब्यवसाय ९ बजेअघि नै बन्द गराउन माग गर्दै अदालतमा रिट दायर गरेका हुन् ।

यद्यपी होटल संघका अध्यक्ष विकल तुलाचनले चाहीँ ब्यक्तिगत रुपमा हस्ताक्षर गरेको बताएका छन् । लेकसाईडको पर्यटन ब्यवसायलाई ब्यवस्थित बनाउनका लागि प्रशासनको ध्यानाकर्षण गराएको उनले बताए । ‘संस्थागत निर्णय होईन । ब्यक्तिगत रुपमै रिट निवेदनमा हस्ताक्षर गरेको छु,’ उनले भने, ‘यो कुनै ब्यक्ति वा संस्था लक्षित छैन । ब्यवस्थित र मर्यादित ब्यवसायका लागि सांकेतिक सचेतना हो ।’ रातिमा चल्ने जेनेरेटर, डान्सबारबाट आएको चर्को आवाज, रंगीविरंगी बत्ती लगायत होहल्लाले जनजीवन नै अस्तब्यस्त भएको रिटमा दावी गरिएको छ । ‘हामी निवेदकजस्ता स्थानीय वासीले आफ्ना घरमा रातका सममयमा पनि शान्तपूर्वक बस्ने, आराम गर्ने, दैनिक जीवन चलाउने, कार्यमा कठीन भएको छ । घरमा अध्ययन गर्नुपर्ने विद्यार्थी छोराछोरी, भाइबहिनीहरुले पठनपाठन गर्न सक्ने अवस्था छैन भने समाचारका लागि टिभीसम्म हेर्न, सुन्न सकिँदैन ।’ निवेदनमा उल्लेख छ ।

रात्रिकालीन व्यवासायमा प्रयोग हुने संगीतको ध्वनि र बाजाको आवाज नियन्त्रण गर्नुपर्ने, राति आउने सेवाग्राहीले प्रयोग गर्ने गाडीको व्यवस्था र आवतजावत सम्बन्धित व्यवसायीले मिलाउनुपर्ने, सेवाग्राहीलाई सम्बन्धित व्यवसायीले नै गन्तव्यसम्म पुर्यााइदिनुपर्ने, चर्को र रंगीबिरंगी बत्ती व्यावसायिक प्रतिष्ठान बाहिर जान रोक्नुपर्ने, व्यावसायिक प्रतिष्ठानमा उत्तेजक वा यौन उत्तेजक संगीत रोक लगाउनुपर्ने, व्यावसायी र सेवाग्राहीले स्वाभाविक पोसाक लगाउनुपर्ने, अवान्छित गतिविधि अनुगमनका लागि स्थायी समिति व्यवस्था गर्न र बेलुका ८ बजेदेखि अनुगमन थाल्नुपर्ने, व्यावसाय सञ्चालन हुने समय सबैले देखिने गरी राख्न लगाउनुपर्ने, रात्रिकालीन व्यावसाय वातावरण संरक्षण ऐनको पालनाबारे प्रतिवेदन पेस गर्नुपर्ने, सडकमा होहल्ला गर्न, झगडा गर्न, ध्वनि प्रदूषण हुने गरी सांगीतिक कार्यक्रम गर्न सेवाग्राहीले प्रयोग गरेका गाडी व्यक्तिको घर अगाडि जथाभावी रोक्न नपाईने ब्यवस्था गर्नुपर्ने निवेदकहरुको माग छ ।

रेष्टुरेष्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराका महासचिव गणेशबहादुर थापा शान्त वातावरणमा व्यावसाय चल्न पाउनुपर्ने बताउँछन् । ‘रातीमा हुने व्यावसाय गलत मात्रै छन् भन्ने होईन । कमजोरी भए सुधार्नुपर्छ । नत्र निर्वाध रुपमा चलाउन पाउनुपर्छ,’ उनले भने, ‘सरकारले विभिन्न पर्यटन बर्ष घोषणा गरेको छ । आएका पाहुनालाई जतिबेला पनि स्वागत गर्नुपर्छ । उनीहरुले मन लागेको बेला खान पाउनुपर्छ । मन लागेको रमाईलो गर्न पाउनुपर्छ । त्यसमा खुकुलो बनाउने हो । झन् बन्द गर्ने कुरा पर्यटनमैत्री हुनै सक्दैन ।’ सबै ब्यवसायीसँग समन्वय गरेर चौविसै घण्टा खोल्ने बिषयमा पहल गर्ने उनको भनाई छ ।

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोमबहादुर थापा पनि व्यावसायलाई मर्यादित बनाउँदै परिस्कृत गरेर पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिन्छन् । ‘९ बजे अरु ब्यापार बन्द गरेर होटल मात्रै खोल्न पाउनुपर्छ भन्नु राम्रो हैन । सबैले ब्यापार गरेर खान पाउनुपर्छ,’ उनले भने, ‘सबै ब्यापार चल्यो भने मात्रै चहलपहल बढ्छ । पर्यटकले बढी खर्च गर्छन् । यसले राज्यलाई पनि टेवा पुग्छ ।’ गण्डकी सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर समृद्धीसँग जोडेको छ । यसैका लागि विभिन्न बर्षहरुमा पर्यटन बर्ष घोषणा गरेर कार्यक्रम पनि गरिरहेको छ । पोखरा पर्यटन परिषदले शुक्रबार विज्ञप्ती निकालेर रात्रीकालिन ब्यवसाय चलाउन सबै सहमत रहेकोले त्यसका लागि पहल गरिदिन आग्रह गरेको छ । अध्यक्ष चिरञ्जीवि पोखरेलले रात्रीकालिन ब्यवसायको निर्देशिका बनाएर सोही अनुसार ब्यावसाय सञ्चालन गर्न पाउनुपर्ने बताए ।

स्थानीय र केही ब्यवसायीहरुले दर्ता गरेको रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । अदालतले अवान्छित र गैरकानुनी क्रियाकलाप हुन नदिन र शान्ति सुरक्षा कायम गराउन प्रहरी गस्ती बढाउन जिल्ला प्रशासन कार्यालयलाई आदेश दिएको छ ।

Photo-Krishna Mani Baral