अव खोलामा लाश जल्दैनन, ब्यवस्थित बन्दैछ मर्दीमा शवदहन स्थल

पोखरा, साउन २६ ।
पोखराको खानेपानीसँग जोडिने विगतदेखिकै एउटा समस्या छ–‘लाश धोएको पानी’ । पोखराका अधिकांश उपभोक्ताले मर्दीको खानेपानी मुहानबाट ल्याईएको पानी प्रयोग गर्छन् । जहाँ खानेपानीको मुहान नजिकै दिनहुँजसो लाश पोलिन्छन् । त्यही पानी पोखरेलीका घरघरमा पुग्छन् । तर अव यो समस्या हट्दैछ । मर्दी किनारमा ब्यवस्थित शवदहन स्थल निर्माण गरिएका छन् । ठाउँठाउँमा बनाईएका शवदहन स्थलले एकातिर खानेपानी शुद्धिकरणमा सघाउ मिलेको छ भने अर्कोतिर स्थानीयलाई लाश जलाउन पनि सजिलो भएको छ ।

व्यवस्थित शवदहन गृह नहुदाँ हेमजा लगायत मर्दी र सेती किनार आसपासका नागरिकले परम्परागत रुपमै शव जलाउँथे र सफा गरेको फोहोर नदीमै हुत्याउँथे । व्यवस्थित शवदहन गृह निर्माणले शवलाई जलाईसकेपछि सफा गरिएको पानी ट्यांकीमा संकलन हुन्छ र पहिलेजस्तो सीधै खोलामा फोहोर पानी जाँदैन । पोखरा उद्योग बाणिज्य संघको अगुवाईमा खानेपानी शुद्धिकरण अभियान अन्तर्गत मर्दी र सेतीका विभिन्न ठाउँहरुमा निर्माण भएका दोश्रो चरणका थप तीनवटा शवदहन स्थल शनिबार खानेपानी तथा सरसफाई मन्त्री विना मगरले समुदायलाई हस्तान्तरण गरिन् ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा पोखरा लेखनाथ महानगरपालिका र नेपाल खानेपानी संस्थान पोखरा शाखाको सहयोगमा शवदहस्थल निर्माण गरिएको हो । वाणिज्य संघले दोस्रो चरण अन्तर्गत सेती र मर्दिखोलाको दोभानमा दुईवटा र लस्ती खोला नजिकै एउटा शवदहस्थल निर्माण गरिएको परियोजना संयोजक यदु अधिकारीले सुनाए । वाणिज्य संघले पहिलो चरणमा सैंतीघट्ट र खोराको मुखमा तीनवटा शवदहस्थल निर्माण गरी हस्तान्रण गरिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पाखिलेले खानेपानी मुहान शुद्धिकरण परियोजनालाई लामो समयपछि सार्थकता प्रदान गरिएको जिकिर गरे । एउटा शवदहन गृह निर्माणको लागि १० लाख ४२ हजार ६ सय ७ रुपैयाँ खर्च भएको उद्योग बाणिज्य संघले जनाएको छ । लागतको ५० प्रतिशत पोखरा लेखनाथ महानगरपालिका, ४० प्रतिशत नेपाल खानेपानी संस्थान पोखरा शाखा र बाँकी १० प्रतिशत पोखरा उद्योग वाणिज्य संघले व्यहोर्दै परियोजनाको नेतृत्व समेत संघले गरेको हो । पोखराबासीको खानेपानी मुहान मर्दिखोलाबाट दैनिक साढे चार करोड लिटर पानी आपूर्ति हुदैै आएको छ । त्यो बाहेक अन्य विभिन्न स्रोतबाट समेत खानेपानी आपूर्ति हुदैं आएको छ ।