व्यवस्थित पार्किङ र बसपार्क निर्माणमा ध्यान दिन्छु : पौडेल

 

पोखरा, कार्तिक ३० ।

नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले पोखराको अव्यवस्थित पार्किङ र बसपार्कको समस्या समाधानका लागि पहल थाल्ने प्रतिवद्धता जनाएका छन् । उनले कास्की–२ को अधिकांश क्षेत्र बजारमा पर्ने भएकाले व्यवस्थित पार्किङ र उच्च स्तरको बसपार्क निर्माणमा सबैको ध्यान जानुपर्नेमा जोड समेत दिए ।

‘बसपार्कका विषयमा ठूला ठूला गफ र भाषण भएका थिए । ती भाषणमै सीमित भए । समस्या समाधानमा कसैले ध्यान दिएन’, उनले भने, ‘पोखरा जस्तो पर्यटकीय नगरिमा अहिलेसम्म एउटा बसपार्क बन्न नसक्नु विडम्वना हो ।’

नेपाल यातायात मजदूर संघ जिल्ला कार्यसमिति कास्कीले शुक्रबार उम्मेदवार खेमराजलाई अव्यवस्थित पार्किङ र बसपार्कको समस्याबारे ध्यानाकर्षण गराएको थियो । त्यसअवसरमा उम्मेदवार पौडेलले आफ्नो क्षेत्रमा परेको समस्या समाधानमा अहोरात्र खटिने प्रतिवद्धता जनाए ।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले डाडूपन्यू हातमा लिनेले यो समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । उनले डाडुपन्यू समातेर बस्ने तर काम नगर्ने बद्मासका कारण एउटा बसपार्क पनि बन्न नसकेको स्पष्ट पारे ।

कास्की कांग्रेसद्वारा गठित चुनाव प्रचार समिति अन्तर्गत यातायात व्यवस्थापन समितिका संयोजक जीतबहादुर गुरुङको सभापतित्वमा भएको कार्यक्रममा ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, कारखाना मजदूर संघका केन्द्रीय उपमहासचिव केशव भट्टराई, यातायात मजदूर संघ गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, यातायात मजदूर संघ कास्कीका अध्यक्ष दामोदर पण्डित लगायतले बोलेका थिए ।

चुनावमा महिलाको भूमिका महत्वपूर्ण : डा. रिजाल

नेपाल महिला संघ कास्कीको भेला शुक्रबार पोखरामा सम्पन्न भयो । भेला आशन्न उपनिर्वाचन केन्द्रित थियो । महिला संघले यसअघि चुनावका लागि विभिन्न समिति गठित घरदैलोमा खटाएको थियो । तिनै समितिका संयोजकहरूले शुक्रबारको भेलामा प्रगति विवरण पेश गर्दै छलफल गरेका थिए ।

भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले चुनाव जित्नका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए । कास्की–२ का चुनावी कमाण्डर समेत रहेका उनले विद्या भट्टराईको मत पनि खेमराज पौडेलमा ल्याउन महिलाकै भूमिका धेरै हुने हुँदा सोही बमोजिमको रणनीति बनाएर चुनावमा खटिन निर्देशन दिए । ‘यो चुनाव कांग्रेसले जसरी पनि जित्नुपर्छ । त्यसैले तपाइँ महिलाहरु घरमा मात्र सीमित नहुनुस्’, उनले भने ।

कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको रणनीति अनुसार चुनावमा ध्यान केन्द्रित गर्न निर्देशन दिए । ‘यो चुनावमा कांग्रेसलाई जसरी पनि जिताउनुपर्छ । तपाइँहरू मतदातालाई भेट्न सक्रिय हुनुस्’, उनले निर्देशन दिए ।

महिला संघकी जिल्ला सभापति एवं चुनाव प्रचार समितिका संयोजक कोपिला रानाभाटले पहिलो चरणको अभियान निकै सकारात्मक रहेको भन्दै अब दोस्रो चरणमा नयाँ रणनीतिका साथ मतदाता भेटघाट गर्ने बताइन् ।

संघकी सचिव सीता गुरुङले कांग्रेस उम्मेदवार खेमराज पौडेललाई जिताउन कुनै पनि कशुर बाँकी नराख्ने स्पष्ट पारिन् ।