अर्थमन्त्री खतिवडाको निर्देशन–कर लिन अँध्यारो कोठातिर नजानुस्, सबै कारोबार उज्यालोमा गर्नुहोला

पोखरा, असोज ५ ।
अर्थमन्त्री युवराज खतिवडाले सरकारले निजी क्षेत्रसँग प्रतिश्पर्धा नगर्ने बताएका छन् । लगानी गर्न निजी क्षेत्रलाई प्रोत्साह गर्ने तर प्रतिश्पर्धा नगर्ने उनले बताए । ‘लगानीको नेतृत्व गर्ने तपाईंहरु नै हो । सरकार निजी क्षेत्रसँग प्रतिश्पर्धा गर्दैन, पोखरा उद्योग बाणिज्य संघको ३२ औं अधिवेशनलाई सम्बोधन गर्दै उनले भने–पहिले निजी क्षेत्रलाई प्रोत्साहन गर्छ । निजी क्षेत्रले गर्न नसक्ने ठाउँमा मात्रै सरकारले हात हाल्छ । सरकार त्यहाँमात्रै सीमित हुन चाहान्छ ।’ उनले निजी क्षेत्रहरु लगानीको संबाहक भएको भन्दै विदेशी लगानीकर्ता र सरकारबीच पुलको रुपमा काम गर्न आह्वान गरे ।

मन्त्री खतिवडाले चालू बर्षभित्रै ८ प्रतिशत आर्थिक बृद्धी हासिल गर्ने लक्ष्य रहेको भन्दै निजी क्षेत्रकै लगानी, उद्यमशिलता र उत्पादन गर्ने क्षमतालाई हेरेर नीति तथा कार्यक्रम तय गरेको बताए । उनले देशको समृद्धीका लागि कर अति आवश्यक भएपनि पछिल्ला समय करका बारेमा धेरै टिका टिप्पणी भैरहेको बताए । ‘सरकारले २५ बर्षमा खासै कर नीति परिवर्तन गरेको छैन । सुधारको नाममा बरु सजिलो बनाउँदै लगेको छ । संघीय सरकारले धेरै करका अधिकार तल दिईसकेको छ, प्रदेश र स्थानीय सरकारलाई निर्देशन दिँदै उनले भने–कानुनले दिएको छ भने कर लिन मिल्छ । तर कर तिर्ने क्षमता बढाउनुपर्छ । सुरुमै कर लिन थालियो भने उल्टो गतिमा हिड्ने अवस्था सिर्जना हुन्छ । त्यो हामीले गर्नु हुँदैन ।’

उनले प्रदेश र स्थानीय तहको लगानी बढाउन कर प्रणालीमा नयाँ काम गर्नुपर्ने भन्दै तल्ला तहमा प्रदत्त अधिकारको सीमाभित्र रहेर लगानी अनुकुल वातावरण बनाउन सरकार लागिरहेको जानकारी दिए । ‘अहिले ज्वलन्त रुपमा उठेको भनेको एकीकृत सम्पत्ति कर नै हो । करको दायरा बढाउने नाममा जवरजस्ती कर उठाउन मिल्दैन, उनी भन्छन्–कर प्रणाली सरलीकरण गर्ने । करदातालाई उत्सायी बनाएर कर लिने हो । लिनुपर्ने एक रुपैयाँ पनि नछोड्ने र लिनुनपर्ने एक रुपैयाँ पनि बढी नलिने हाम्रो नीति हुनुपर्छ ।’ मन्त्री खतिवडाले ६ महिनाभित्रै लगानीसम्बन्धी सबै कानुन तयार गरेर लगानी सम्मेलन गर्ने तयारीमा सरकार जुटेको बताए ।

उनले निस्किृय भैसकेका पूराना कानुनलाई खारेज गर्ने र केही संशोधनको लागी पनि छलफल चलिरहेको बताए । देशको समृद्धी जलश्रोतको अधिक उपयोगबाट हुने उल्लेख गर्दै खतिवडाले निजी क्षेत्रको बढी संलग्नता आवश्यक रहेको बताए । ‘उज्यालो पाएपछि उज्यालोमै कारोबार गरिदिनुप¥यो । छंग उज्यालो भएपछि र लाईट भएपछि छामछाम छुमछुम त गर्नै परेन, उनी भन्छन्–कर प्रशासन साथीहरुले पनि उज्यालोमै कर असुल गरिदिनुहोला । अँध्यारो कोठातिर जाऔं भन्ने कुरा पनि गर्नुभएन । त्यसपछि हाम्रो मुलुक पूरै उज्यालो बन्छ र यही उज्यालोले हामीलाई समृद्धतर्फ लैजान सक्छ ।’