अर्को विवादमा अधिकारी, लाउडाका आरोपित नै ‘विज्ञ’ समूहमा

काठमाण्डौं, असार २३ ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अर्को विवादित नियुक्ति दिएका छन् । बहुचर्चित लाउडा विमान भाडा प्रकरणका मुख्य आरोपी हरिभक्त श्रेष्ठलाई नागरिक उड्ययन विज्ञको रुपमा नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा उनलाई विज्ञ समूहमा नियुक्त गरिनु अधिकारीको अर्को विवादित पक्षको रुपमा टिप्पणी सुरु भएको छ । लगातारजसो विवादित निर्णयहरु गर्दै आएका अधिकारीले यसलाई निरन्तरता दिईरहेका छन् ।

मन्त्रीले एटीएम तथा हवाई कानुन विज्ञका रूपमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । एकातिर उनीमाथिको सरकारवादी मुद्दा सर्वोच्चमा विचाराधीन छ भने अर्कोतर्फ श्रेष्ठले दिएको सल्लाह, सुझाव र राय पर्यटनमन्त्री र मन्त्रालयले ग्रहण गर्नुपर्ने अवस्था बनेको छ ।

‘नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि’ भनी गठित विज्ञ समूहको ५ औं वरीयतामा पूर्वसचिवसमेत रहेका श्रेष्ठको नाम उल्लेख छ । गत वैशाख १३ मा मन्त्री अधिकारीको एकल निर्णयबाट गठन भएको विज्ञका सदस्यहरूको काम सुधारको विषयमा राय परामर्श दिने र सरकारले गठन गर्ने कार्यदलमा विज्ञका रूपमा राय दिने भनी उल्लेख छ । दुवै विज्ञ समूहको नेतृत्व मन्त्री स्वयंले गर्ने समेत जनाइएको छ ।

पर्यटन क्षेत्रबाट २९ र नागरिक उड्डयन क्षेत्रबाट २० गरी ३९ जनाको विज्ञ समूह गठन गरिएको उल्लेख छ । अन्तिम अदालतबाट मुद्दा किनारा नलागेको र श्रेष्ठमाथिको आरोपका बारेमा समेत सरकारले पूर्ववर्ती धारणा यथावत् राखेको अवःथामा ‘विज्ञ’ का रूपमा श्रेष्ठलाई नियुक्ति गर्नु नैतिक एवं जवाफदेहिताको प्रश्न भने हो । अझ लाउडा विमान भाडा प्रकरणलाई त तत्कालीन अवःथामा संसदको प्रतिपक्षी दल एमालेले नै चर्को रूपमा सडक र सदन तताएको थियो ।

यसअघि उनले फेवातालको मापदण्ड मिचेर होटल चलाएका सुनिल शाक्यलाई पर्यटन विज्ञ बनाएका थिए । पोखरा विमानस्थलका बारेमा उनकै विज्ञ समूहले दिएको प्रतिवेदनले केही समय चर्काचर्की समेत भयो । कान्तिपुर दैनिकले समाचार लेखेको छ । 

File Photo