अमेरिकाको संसदमा फ्रान्सका राष्ट्रपतिले गरे अमेरिकाकै आलोचना

एजेन्सी, बैशाख १३ ।
फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको बताएका छन् । उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने पनि उनले बताए । अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

सम्बोधनको क्रममा उनले भने, ‘अलग–अलग रहनु, कसैलाई अलग–थलग बनाउनु या राष्ट्रवाद हाम्रो डरलाई हटाउनका लागि अस्थायी विकल्प त हुनसक्छ तर विश्वलाई अगाडि बढ्नबाट रोक्न सकिँदैन । हाम्रा नागरिकमा डर कम हुँदैन बरु झन् बढाउँछ । हामी उग्र राष्ट्रवादको उन्मादबाट विश्वमा क्षति पुग्न दिँदैनौं ।’

संसदलाई सम्बोधन गर्नुअघि म्याक्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । म्याक्रो संसदमा प्रवेश गर्नासाथ सांसदहरुले तीन मिनेटसम्म उभिएर ताली बजाउँदै स्वागत गरेका थिए । म्याक्रोको यो अभिव्यक्तिले अमेरिकी नीति र उसका एजेन्डामा धक्का पुगेको बताइन्छ ।

यद्यपि अमेरिका र फ्रान्स निकट मित्र हुन् । तर, म्याक्रोको भाषणबाट थाहा हुन्छ अन्तर्रा्ष्ट्रिय व्यापार र इरानदेखि पर्यावरणका मुद्दामा उनी अमेरिकी राष्ट्रपति ट्रम्पसँग विमती राख्छन् । ५० मिनेट लामो भाषणको क्रममा म्याक्रोले सुरुमा अमेरिका र फ्रान्सको अटुट सम्बन्धको विषयमा बोलेका थिए । त्यसपछि उनले अमेरिकाले पर्यावरण सम्बन्धमा पेरिस सम्झौता पालना गर्ने विश्वास व्यक्त गरे । उनले फ्रान्स र इरानबीच सन् २०१५ मा भएको परमाणु सम्झौता नतोड्ने घोषणा गरे ।

ट्रम्पले पेरिस सम्झौताबाट अमेरिकालाई अलग गराइसकेका छन् र इरानसँगको परमाणु सम्झौता तोड्ने धम्की दिँदै आएका छन् । म्याक्रोले भने, ‘हाम्रो जीवनको उद्देश्य के हो ? हामी पृथ्वीलाई बर्बाद बनाइरहेका छौं र आफ्ना सन्ततीको भविष्यलाई दाउमा लगाइरहेका छौं । अन्त कतै अर्को पृथ्वी छैन । भविष्यमा हामी सबैलाई एउटै सत्यको सामना गर्नुपर्नेछ किनकी हामी सबै यसै पृथ्वीमा रहन्छौं ।’

डेमोक्रेटिक पार्टीका वरिष्ठ सांसद एडम स्कीफले म्याक्रोको भाषणको आलोचना गरेका छन् । उनले एएफपी समाचार एजेन्सीसँग भनेका छन्–म्याक्रोले अमेरिकी राष्ट्रपति ट्रम्पको सीधा–सीधा विरोध गरेका छन् । यस्तै रिपब्लिकन पार्टीका जेफ फ्लेकले भनेका छन् म्याक्रोको भाषण ट्रम्पवादभन्दा बिलकुल उल्टो छ ।

तर रिपब्लिकन पार्टीकै अर्का नेता केविन मेक्कार्थीले भने ट्रम्प र म्याक्रोमा कुनै मतभेद नरहेको दावी गरे । उनले भने– म्याक्रोले भने कि उनी स्वतन्त्र र सही व्यापार चाहान्छन् । त्यही कुरा ट्रम्प पनि चाहान्छन् ।