अफिसमै सुन्दरीको चुम्बन, भिडियो भाइरल बनाउने भन्दै करोडको बार्गेनिङ (पूरा विवरण सहित)

काठमाण्डौं, कार्तिक ७ ।
ठगका हजार दाउ हुन्छन् भनेझैं प्रहरीलाई नै चकित पार्ने गरी एउटा ठगीको प्रयास भएको छ । प्रहरीको अनुसन्धान–प्रविधि दिन प्रतिदिन विकसित भइरहेको अवस्थामा ठगी गर्नेहरुले नयाँनयाँ तरिका अपनाउन थालेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले ठगी प्रयास गर्ने एक जोडी युवक–युवतीलाई पक्राउ गरेपछि सो रहस्य खुलेको हो ।

यसरी भयो ठगीको नाटकीय शैली

ललितपुरको कुपण्डोलमा बस्दै आएका एक व्यवसायी (शिव, नाम परिवर्तित) को फेसबुकमा जेठ अन्तिम साता एक युवतीको फ्रेन्ड रिक्वेस्ट आउँछ । निशा अधिकारी नामको उक्त प्रोफाइल एक सर्को हेरेर उनी एसेप्ट बटम थिच्छन् ।

’हाई!’ तत्काल निशाबाट शिवलाई म्यासेज आउँछ । म्यासेन्जरमा सामान्य कुराकानी र चिनजान हुन्छ । यो क्रम दुई–तीन दिनसम्म चली नै रहन्छ ।

सन्चो–बिसन्चोदेखि खाना खाएको–नखाएकोसम्म कुराकानी म्यासेन्जरमै हुन थाल्छन् । केही दिनको कुराकानीपछि दुई जनाबीच मित्रता प्रगाढ बन्दै जान्छ । परिचितझैं उनीहरुबीच गफ हुन थाल्छ ।

म्यासेन्जरमै उनीहरुले मोबाइल नम्बरसमेत साटासाट गरिसकेका हुन्छन् । म्यासेन्जरको कुराकानी फोनबाट थप विस्तारित हुँदै जान्छ । असार १ गते ती युवतीले फोनमा भन्छिन्, ‘तपाईंलाई अफिसमा भेट्न दिउँसो आउँछु । भेटेर कुराकानी गर्नुछ ।’

नदेखे पनि परिचितझैं बनिसकेकी उनको प्रस्तावमा शिव नाइँनास्ती गर्दैनन् । अफिसको लोकेसन दिन्छन् । निशा त्यहीँ पुग्छिन् । ’नाम–इन्दु । घर–झापाको बुधबारे,’ उनी यसरी परिचय दिँदै कुराकानीको सुरुवात गर्छिन् ।

उनी नजानिँदो पाराले शिव बसेको नजिकै पुग्छिन् । सोफामा बसेका उनी इन्दुको मुलायम कुरामा पग्लिन थाल्छन् । यतिन्जेलमा शिव–इन्दुको दुरी एक इन्चभन्दा कम भइसकेको हुन्छ । बिस्तारै शिवको आलिंगनमा सुन्दरी इन्दु कसिँदै जान्छिन् ।

यही मौकामा शिवमाथि इन्दुले चुम्बन गर्छिन् । केही समय रोमान्स गरेपछि फेरि भेटौंला भन्दै उनी शिवको कोठाबाट बाहिरिन्छिन् । सुन्दर युवतीको मायामा डुबिसकेका शिव उनकै कल्पनामा डुबिरहेका बेला अचानक नयाँ नम्बरबाट फोन आउँछ ।

’म गणेश लामा।’ यति परिचय दिनासाथ उनी थरर हुन्छन् । ’इन्दुसँग अफिसमा रोमान्स गरेको भिडियो मसँग छ । एक करोड दिन भए दिनु । नत्र भिडियो युट्युब र फेसबुकमा अपलोड गरेर भाइरल बनाउँदै तेरो बेइज्जत गर्छु ।’ गणेश नामक उक्त व्यक्तिले धम्क्याएपछि शिव छाँगाबाट खसेझैं हुन्छन् ।

बल्ल थाहा पाउँछन्–इन्दुले मायाको नाटक गरेर चुम्बन गरेर भिडियो बनाएको । त्यसपछि एक करोड रुपैयाँको बार्गेनिङ गर्दै दिनहुँजसो फोन आउन थालेपछि शिव प्रहरीकहाँ पुग्छन् र उजुरी गर्छन् ।

उनको उजुरीकै आधारमा प्रहरीले चुम्बन गर्ने ती युवती र फोनबाट करोडको बार्गेनिङ गर्ने युवकलाई पक्राउ गरेको छ । ठग्नकै लागि युवा–युवतीले गलत नाम ठेगाना दिएको तथ्यसमेत प्रहरीले पत्ता लगाएको छ ।

पक्राउ पर्नेमा निशा र इन्दु नाम बताउने पाँचथरको हिलिहाङ गाउँपालिका–४ की २५ वर्षीया इन्दिरा उप्रेती र गणेश लामा नाम बताउने गोरखाको पालुङटार नगरपालिका–८ का ३१ वर्षीय बद्रीनाथ लामिछाने छन् ।

लामिछानेलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बेलुका गौशालाबाट र उप्रेतीलाई बुधबार दिउँसो टेकुबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए । उनीहरुलाई कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको अपराध महाशाखाले जनाएको छ ।