अफगानिस्तानको काबुल आक्रमणमा ११ नेपाली परे

पोखरा, मंसिर १४ ।
अफगानिस्तानको काबुल आतंककारी हमलामा ११ जना नेपाली परेका छन् । आक्रमणमा परेका १६ जना घाइते मध्ये ११ जना नेपाली रहेका छन् । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये ११ नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीको समाचार बुलेटीनमा उल्लेख छ । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे छ तर उनीहरुको परिचय र अवस्थाबारे खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षासम्बन्धी कम्पनी जीफोरएसमा कार्यरत थिए । जीफोरएस विश्वकै सबैभन्दा ठूलो सुरक्षा कम्पनी हो ।

अफगान अधिकारीहरूका अनुसार, बुधबारको कार बम विस्फोटपछि पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दुवै पक्षबीच गोली हानाहान भएको थियो । घटनाको समयमा ३ सय ३० व्यक्ति रहेको र तीमध्ये अधिकांश विदेशी रहेको बताइएको छ । आक्रमणको जिम्मा तालिवानले लिएको छ ।