अपारदर्शी मिस वर्ल्ड, श्रृंखलामाथि ‘अन्याय’ !

काठमाण्डौं, मंसिर २३ ।
मेक्सिकोकी सुन्दरी भानेसा पोन्स डे लियोनलाई ताज पर्हियाउँँदै चीनमा मिस वर्ल्ड २०१८ प्रतियोगिता शनिबार पटाक्षेप भयो । नेपालकी सुन्दरी श्रृंखला खतिवडा प्रतियोगितामा दुई महत्वपूर्ण अवार्ड जित्दै टप १२ सम्म पुगिन् ।

यसपालिको मिस वर्ल्डले नेपालमा जबरजस्त चर्चा र बहस जन्माइरहेको छ । सम्भवतः पहिलोपटक नेपाललाई उपाधिको दावेदारका रुपमा लिएका थिए, अन्तरराष्ट्रिय सौन्दर्य विज्ञहरुले । नेपालमा श्रृंखलाको फ्यान फलोइङ अभूतपूर्व देखियो । उनलाई मिस वर्ल्डका रुपमा हेर्न नेपालीहरु आतुर थिए । उनका फ्यानहरुले टप १२ मा चित्त बुझाउन सकिरहेका छैनन् ।

तर, मिस वर्ल्ड एउटा यस्तो प्रतिस्पर्धा हो, जसको कहिल्यै पूर्वानुमान गर्न सकिन्न । पूर्व मिस नेपाल माल्भिका सुब्बाको भनाइमा प्रायः अनुमान नगरिएकाले उपाधि जित्ने गरेका छन् । ‘श्रृंखला मिस वर्ल्डको ताज पहिरिन योग्य थिइन्, तर सबै कुरा उनका हातमा हुँदैनन्,’ उनी भन्छिन् ।

यद्यपि, मिस वर्ल्डको उपाधिपछिको महत्वपूर्ण मानिने ‘ब्यूटी विथ पर्पस अवार्ड’ जित्न श्रृंखला सफल भइन् । साथै भोटिङमा आधारित मल्टिमिडिया अवार्ड पनि । यस हिसाबले यसपटक मिस वर्ल्डमा नेपालले अहिलेसम्मको ठूलो सफलता पाएको मान्न सकिन्छ ।

‘ब्यूटी विथ पर्पस अवार्ड’ भने सन् २०१३ मा ईशानी श्रेष्ठले पनि जितेकी थिइन् । उनी टप १० मा पनि पुगेकी थिइन् । त्यतिबेला यो अवार्ड जितेपछि ईशानीलाई सोझै टप १० मा र्पुयाइएको थियो भने यसपालि श्रृंखलालाई टप ३० मा सीमित राखिएको थियो ।

मिस वर्ल्डको फम्र्याट हरेक वर्ष परिवर्तन भइराख्छ । यसपालि सुन्दरीहरुलाई उनीहरुले प्रतिनिधित्व गर्ने महादेशका आधारमा विभाजन गरिएको थियो । टप ३० बाट टप १२ मा पुग्ने क्रममा श्रृंखलाले एसियाका १२ सुन्दरीहरुसँग ३ वटा स्थानका लागि भिड्नुर्पयो । यसमा उनी सफल भइन् । आफ्नो महादेशका बलिया भारत र चीनलाई समेत पछि पार्दै उनले टप १२ मा स्थान बनाइन् ।

टप ३० का सुन्दरीहरुको सानो परिचयात्मक जस्तो भिडियो प्रस्तुत गरिएको थियो । त्यसपछि सोझै टप १२ को घोषणा गरियो । एसियाबाट श्रृंखलासँगै अन्य २ सुन्दरी टप १२ मा पुगे ।

टप १२ का प्रतिस्पर्धीहरुलाई निर्णायकहरुले प्रश्न सोध्ने अपेक्षा थियो । तर, त्यस्तो केही भएन । उद्घोषकले उनीहरुसँग छोटो कुरा गरिन् । र, एकाएक टप ५ घोषणा भयो । एसियाबाट एकजना मात्र छानिने भए । श्रृंखलालाई पछि पार्दै थाइल्यान्डकी सुन्दरी टप ५ मा परिन् । टेलिभिजन र इन्टरनेटमा मिस वर्ल्ड लाइभ हेर्न झुम्मिएका नेपालीले श्रृंखला के आधारमा आउट भइन् भन्ने बुझ्न सकेनन् ।

माल्भिका भन्छिन्ः अन्याय भयो

पूर्व मिस नेपाल माल्भिका सुब्बा मिस वर्ल्डमा श्रृंखलामाथि अन्याय भएको बताउँछिन् । उनी भन्छिन्, ‘टप १२ मा कुनै प्रश्नोत्तर भएको थिएन । सम्भवतः ट्रयाक रेकर्डका आधारमा टप ५ छनोट गरिएको हुनुपर्छ । यसरी हेर्दा श्रृंखला टप ५ को पहिलो हकदार थिइन्, किनकि उनले ‘ब्यूटी विथ द प्रपोज’ जस्तो महत्वपूर्ण अवार्ड र ‘मल्टिमिडिया अवार्ड’ पनि जितेकी थिइन् । प्रतियोगितापूर्व दुई अवार्ड जित्ने उनी मात्रै थिइन् । उनको फ्यान फलोइङ सबैभन्दा बढि थियो । सौन्दर्य र बौद्धिकतामा पनि अगाडि थिइन् । तर, के कारणलाई उनलाई फ्याँकियो, मैले पनि बुझ्न सकिनँ ।’

श्रृंखला कम्तिमा टप ५ मा पुग्ने पहिलेदेखि नै आफूले अपेक्षा राखेकाले टप १२ मा चित्त बुझाउन नसकेको उनले बताइन् । ‘दुई वटा अवार्ड जितिसकेपछि मैले सोचेकी थिएँ कि उनी सहजै टप ५ मा पुग्नेछिन् र त्यहाँ आउने प्रश्नको सहज उत्तर दिइन् भने मिस वर्ल्ड नै जित्न सक्छिन् । तर, उनले प्रश्नको सामना गर्ने मौका नै पाइनन्,’ माल्भिकाले भनिन् ।

‘मिस वर्ल्डलाई सौन्दर्यको मात्र नभएर बौद्धिकताको पनि प्रतिस्पर्धा मानिन्छ । तर, हिजोको प्रतियोगिता हेर्दा बौद्धिकताको कुनै मापन भएको देखिएन । अन्तिम ५ मा परेका सुन्दरीहरुलाई पूर्व्मिस वर्ल्डहरुले बेग्लाबेग्लै प्रश्न सोधेका थिए । ती प्रश्नहरु कत्ति पनि नौला र दमदार थिएनन् । जस्तै उपाधि जित्ने मेक्सिकोकी सुन्दरीलाई सोधिएको थियो, ‘(मिस वर्ल्ड हुनुभयो भने) तपाईं अरुलाई सहयोग गर्न कसरी आफ्नो प्रभाव उपयोग गर्नुहुन्छ ?’

यो कुनै बौद्धिकस्तर नापिने प्रश्न थिएन । न त मेक्सिकोकी सुन्दरी भानेसा पोन्सले दिएको जवाफ नै असाधारण थियो । उनले जवाफ दिएकी थिइन्, ‘मैले विगत ३ वर्षदेखि जसरी काम गरिरहेकी छु त्यसैगरी गर्नेछु । म आफूलाई उदाहरणका रुपमा पेश गर्नेछु । हामी सबै संसारमा राम्रो कुराको उदाहरण बन्न सक्छौं । हामी सबैले केयर गर्नुपर्छ, हामी सबैले माया गर्नुपर्छ, हामी सबै दयालु हुनुपर्छ । यो कुनै गाह्रो काम पनि होइन र कुनै खर्च लाग्दैन । तपाईं अगाडि बढ्नुस, किनकी तपाईंको सहयोगको धेरैलाई खाँचो छ । अरुलाई सकेको सहयोग गरौं ।’

भानेसाको यो जवाफ सटिक नभएर ‘घोकन्ते’ थियो । तर, अन्त्यमा उनले नै ताज जितिन् । पूर्व्मिस नेपाल मलिना जोशी भन्छिन्, ‘पहिले मैले मिस वर्ल्डको बारेमा जस्तो धारणा बनाएकी थिएँ, आफैले भाग लिएपछि त्यस्तो पाइनँ । त्यहाँ हरेक वर्ष फम्र्याट चेन्ज भइराख्दो रहेछ । आफूले तयारी गरेअनुसार प्रस्तुत हुन पनि नपाइने ।’–onlinekhabar.com